काठमाडौ । मित्रराष्ट्र बेलायतले नेपाललाई २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको हो ।

बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा विहिबार नेपाललाई उपलब्ध गराइने खोपबारे निर्णय भएको मन्त्रालयले जनाएको छ । ‘बेलायती संसदमा नेपाललाई उक्त मात्राको खोप उपलब्ध गराउने जानकारी ब्रिफिङ भएको छ र यसबारे बेलायतले औपचारिक निर्णय गर्ने जानकारी हामीलाई प्राप्त भएको छ’ स्रोतले भन्यो ।

बेलायती संसदमा विहिबार मध्यान्ह ११ मिनेट महामारीविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल भएको थियो । सांसदहरुको प्रश्नमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले बेलायतले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको बताएका थिए ।

यसअघि नेपालले कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । लर्ड अहमदले यसअघि खोप र स्वास्थ्य सामाग्री आपूर्तिबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरिसकेका छन् । साथै उनले राजदूत लोकदर्शन रेग्मीलाई समेत भेट्ने जनाएका छन् ।

काठमाडौंस्थित बेलायती र नेपाली प्रतिनिधिसँग सम्पर्क भैरहेको जनाउँदै लर्डले नेपालको स्वास्थ्य मन्त्रालयलाई आवश्यक स्वास्थ्य सहयोग र प्राविधिक विज्ञहरु पठाउन लागिएको बताएका थिए ।

सम्बन्धित खबरहरु