काठमाडौं । प्रतिनिधिसभा भंग भएर नयाँ चुनावको मिति घोषणा भएसँगै सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिने जनाएको छ ।

सरकारले सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिनु भएको हो ।

सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानून अनुसार कारबाही गर्न समेत गृहले निर्देशन दिएको हो । प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो ।

बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको हो ।

गएराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति घोषणा गर्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु