अबुधाबी । युएईमा वैदेशिक रोजगारीमा कार्यरत नेपालीलाई युएईस्थित नेपाली दूतावासबाट समयमै सेवा नपाउँदा समस्या पर्न थालेको गुनासो आउन थालेको छ ।

पासपोर्टको वैधानिकता सकिँदै गर्दा समेत सेवा नपाउँदा त्यहाँको कानूनले अप्ठ्यारो पार्ने हो की भन्ने चिन्तामा उनीहरु परेका छन् ।

पासपोर्टको अवधि सकिएपछि त्यहाँ कार्यरत नेपालीहरुको युएईको बैकिङ कारोबार रोकिने सन्देश बैंकले निरन्तर पठाइरहेको छ ।

कम्पनीले पनि पासपोर्ट नवीकरण गरेर ५ दिनभित्र जम्मा गर्नु भनी आदेश दिन्छ । तर मे २३ मा पासपोर्ट नवीकरण गर्न भनी नेपाली दूतावास अबुधाबी गएका नेपालीहरु सफ्टवेयरमा समस्या भएका कारण फाराम नभरी फर्किन बाध्य छन् ।

त्यहाँ कहिले सफ्टवेयरमा समस्या देखाइन्छ । कहिले विभागको कर्मचारी बिरामी भएकोले भनिन्छ । एउटै शीर्षकमा एक दिनभन्दा बढी पाइदैन तर दूताबासले समयमा काम गरिदिँदैन ।

अहिले उनीहरुको इमान्दारितामा समेत कम्पनीहरुले प्रश्न उठाउन थालेका छन् । कारण उनीहरु हैन । नेपाल सरकारको सिस्टमको हो ।

पासपोर्ट नवीकरणको लागि अनलाइन फाराम भर्ने कोसिस गरेपनि सफ्टवेयरमा देखिएको समस्याका कारण दूतावास पुग्नुपर्ने हुन्छ । आफ्नो पासपोर्ट अवधि सकिनु अगाडि नै नवीकरण गर्न दूतावास धाउने एक जना मात्र हैन । अधिकांशले भोग्दै आएको समस्या हो यो ।

कन्सुलरसेवा पासपोर्ट नवीकरण लगायत नाताप्रमाणित, प्रमाणपत्र प्रमाणीकरण गर्न हिजोआज दैनिक १ सयभन्दा बढी नेपाली कामदारहरु नेपाली दूतावास आउन थालेका छन् तर एक जना कर्मचारीले सबै काम गर्न नसक्ने भन्दै दिनहुँ फर्काइदिन्छ ।

वैदेशिक रोजगारीको लागि युएईमा आधिकारिक रूपमा ३ लाख भनिए पनि भिजिट भिसा, व्यावसायिक भिसा, पारिवारिक भिसाका कारण करिब चार लाख भन्दा बढी नेपालीहरु रहेको मानिन्छ । सन् २०१० मा सुरु भएको एमआरपी पासपोर्टको अवधी सकिएकाले नवीकरणको लागि दूतावास पुग्ने नेपालीहरु दिनानुदिन गुणात्मक रुपमा बढने निश्चित प्रायः छ । तर, दूतावास श्रोत भने कर्मचारी अभाव भएको बताउँछ ।

दूतावासले पासपोर्ट सम्बन्धी काम गर्न नासु नारायण ज्ञवालीलाई जिम्मेवारी दिएको थियो । तर ज्ञवाली अधिकृतमा बढुवा भएर नेपाल सरुवा भएपछि उनको काम अर्का नासु रामविनय रेले सबै काम गरिरहेका छन् । नासु रे पनि बिरामी बिदामा एक साताभन्दा बढी बसेकाले पासपोर्ट नवीकरण र कन्सुलर सेवा सम्बन्धी काम प्रभावित भएको दूतावासले स्वीकार गरेको छ ।

 

सम्बन्धित खबरहरु