काठमाडौं । अर्थविद्ले आगामी वर्ष २०७८÷०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आज आयोजना गर्नुभएको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ ?’

विषयको भर्चुअल अन्तक्र्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन् ।

कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गर्नुभयो ।

काग्रेसका नेता तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले कोरोनाको उपचारका लागि अहिलेको अवस्थामा अस्पतालमा चिकित्सक थप्न सरकारलाई आग्रह गर्नुभयो ।

काग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएको तर यसलाई सम्बोधन गर्ने खालको बजेट आउन नसकेको बताउनुभयो ।

पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले मुलुकको अर्थतन्त्र कोरोनाका कारण ध्वस्त भएको बेलामा यति ठूलो बजेट ल्याउनु गैरजिम्मेवारी काम भएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल र डा गोविन्दराज पोखरेलले बजेट राजनीतिमुखी भएको आरोप लगाउँदै पूर्वअध्ययनविना नै योजना समावेश गरिको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजनीतिक दलले भन्दा पनि व्यक्तिले लाभ लिने खालको बजेट आएको भनाइ राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका पूर्वअध्यक्ष डा रवीन्द्र पाण्डे, व्यवसायी नरेश श्रेष्ठ, अर्थविद् डा विश्व पौडेल, राजु नेपाल, दधि अधिकारी, आर्थिक पत्रकारद्वय पुष्पराज आचार्य, कृष्ण आचार्यलगायतले सरकारले घोषणा गरेको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु