काठमाडौं । कोरोना महामारीबीच कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने कुरा अहिले थप जटिल बन्दै गएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सरकारको अनुमति मागेको छ ।

बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पठाएको हो ।

जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिसकेको छ । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षाको तयारीमा छन् ।

एसइई परीक्षा पनि जेठ १३ गतेदेखि सञ्चालन गर्ने तयारी हुँदै थियो । बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको बताउनुभयो ।

कोरोना महामारीका कारण गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएको थियो । गत वर्ष सम्बन्धित विद्यालय आफैंले लिएको त्रैमासिक, अर्धवार्षिक परीक्षाको आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा नतिजा प्रमाणीकरण र सार्वजनिक भएको थियो ।

सरोकारवालाले यस वर्ष पनि सोही तरिका अपनाउन सुझाव दिएका छन् । तर यस वर्ष कक्षा सञ्चालन नभएका कारण विद्यालयहरुले विद्यार्थीको त्रैमासिक र अर्धवार्षिकसहित कुनै पनि परीक्षा लिन सकेका छैनन् ।

यस्तो अवस्थामा पढाई अनलाइन भएका कारण परीक्षा पनि अनलाइनमार्फत गर्नुपर्ने तर्क पनि गर्न थालिएको छ । तर एसइई दिने परीक्षार्थी सबैको इन्टरनेट, ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिए जस्तै परीक्षा दिन नसकिने देखिएको छ ।

 

सम्बन्धित खबरहरु