काठमाडौं । कोरोना महामारीको सुरुवातदेखि नै चीन नेपाललाई सघाउँदै आएको छ ।

कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि आवश्यक पर्ने किटदेखि लिएर अहिले खोपसम्म चीन सरकारले सहयोगस्वरुप प्रदान गर्दै आएको छ ।

नेपाललाई मात्र नभएर चीनले विश्वका धेरै देशहरुलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै आइरहेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीका अनुसार चीनले महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डरीले चिनियाँ समकक्षी सि जिनपिङसँग टेलिफोन कुराकानी गर्नुभएको थियो ।

उहाँहरुबीच कोरोनासँग लड्न कसरी सघाउने भन्ने विषयमा चर्चा भयो । चीनका राष्ट्रपतिले नेपाललाई १० लाख कोरोना खोप उपलब्ध गराउने वचन दिनुभएको थियो । उक्त खोप लिनका लागि नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ ।

एक अखबारलाई दिएको अन्र्तर्वातामा राजदुतले दुई नेताबीचको कुराकानीमा दुई देशबीचको सम्बन्धको महत्वमा जोड दिइएको बताउनुभएको थियो ।

चिनियाँ राष्ट्रपतिले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै उहाँले कोरोना महामारीविरुद्ध लड्न नेपालका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । सीले नेपाली जनताले कोरोना भाइरसलाई पराजित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

जवाफमा राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना दिवसको एक सयौं वार्षिकोत्सबका अवसरमा बधाई व्यक्त गर्दै शक्तिशाली नेतृत्वको मातहतमा रहेर चिनियाँ कम्युनिष्ट पार्टीले आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।

भण्डारीले ‘सबैका लागि स्वास्थ्य’ को माध्यमबाट विश्व समुदायलाई गोलबन्द गर्ने चिनियाँ अवधाराणाको खुलेर प्रशंसा समेत गर्नुभएको थियो । दुई राष्ट्र प्रमुखकाबीचमा वान बेल्ट एण्ड वान रोड परियोजनालाई अघि बढाउने, बहुपक्षीयतावादलाई मजबुत बनाउनेलगायतका विविध विषयमा समझदारी भएको राजदूत होउले जानकारी दिनुभयो ।

गत बर्ष महामारीको प्रकोप भएदेखि चीन र नेपालले एक अर्कालाई कोरोनाभाइरस विरुद्धको लडाईमा सहयोग गर्दै आएका छन् । आपसी सहयोग पनि बढाइएको छ । परस्पर सहयोगलाई पनि अघि बढाइरहेका छन् ।

चीनले नेपाललाई खोपसहित अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराउँदै आएको छ । कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धीत अनुभव नेपाली पक्षसँग चीन साझा गर्दै आएको छ । यसरी चीनले महामारी बिरूद्ध लड्न नेपालको प्रयासमा योगदान पुर्‍याएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार चीन नेपालको विकास र महामारीविरुद्धको लडाइमा विश्वासिलो र विश्वसनीय साझेदारका रूपमा रहँदै आएको छ । दुई देशका राष्ट्रपतिहरु बीच टेलिफोन कुराकानीमा द्विपक्षीय सम्बन्ध विकास र महामारी विरुद्धको सहयोगको लागि एक स्पष्ट दिशा प्रदान गरेको उहाँको बुझाई रहेको छ । दुई नेताबीचको व्यक्तिगत मार्गदर्शनले चीन–नेपाल सहयोग सम्बन्धी रणनीतिक साझदारी र विकास र समृद्धिका क्षेत्रको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले १० लाख डोज खोप सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । यो महासंकटका बेला स्वागतयोग्य कदम हो ।

चीनले नेपालसहितको विकासशील मुलुकहरूलाई कस्तो प्रकारको सहयोग गर्दैछ भनेर राखेको प्रश्नमा राजदूत होउले चीन आफूले भनेको कुरा गर्ने जिम्मेवार मुलुक भएको बताउनुभयो । तपाईंलाई जानकारी गराउ कि गत मार्चको अन्त्यतिर चीनले नेपाललाई महामारीविरुद्ध लड्न ८ लाख डोज खोप सहयोगस्वरुप दिएको थियो ।

विश्वभर खोपको उच्च मागका बाबजुद राष्ट्रपति सीले व्यक्तिगत रूपमा अतिरिक्त १० लाख डोज खोप सहयोग स्वरूप दिने घोषणा गर्नुभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु