काठमाडौं । नेपाली जनताको प्यारा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते शुक्रवार राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तले नेपाली जनतालाईं छोडेर जानु भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको उक्त घटनाको अहिले पनि रहस्य कायम छ । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ ।

युवराज दीपेन्द्रले त्यो घटना घटाएको भन्ने विभिन्न दाबीहरुलाई नेपाली जनताले विश्वास गर्न सकिरहेका छैनन् । केहि रिर्पोटहरुमा दीपेन्द्रले आफुले चाहेको केटीसँग विहे गर्न नपाउँदा त्यस्तो गरेको भन्ने आरोप छ ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि राजा वीरेन्द्र सबै नेपालीहरुको मनमा हुनुहुन्छ । उहाँको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको ज्यान लिइएको थियो ।

वीरेन्द्र वीर विक्रम शाहको जन्म वि.सं. २००२ साल पुष १४ मा भएको थियो । उहाँ नेपालका दशौँ शाहवंशीय राजा हुनुहुन्थ्यो । उहाँले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालमा शासन गर्नुभएको थियो ।

उहाँका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिनु भएको थियो । वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह । धिरेन्द्रको राजदरवार काण्डमा मृत्यु भएको थियो ।

उहाँले प्रारम्भिक शिक्षा दरवारमा नै लिनु भएको थियो । माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गर्नुभएको थियो । त्यसपछि उहाँ बेलायतको इटन कलेजमा जानुभयो । पछि जापान तथा अमेरिकामा पनि उहाँले थप अध्ययन गर्नुभएको थियो ।

वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहसँग भएको थियो । पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि उहाँ राजा बन्नु भएको थियो ।

सम्बन्धित खबरहरु