काठमाडौ । जुन गाउँ सबैभन्दा पहिला कोरोनामुक्त हुन्छ, त्यसले ५० लाख पाउने घोषणा गरिएको छ । यो घोषणा भारतको महाराष्ट्र राज्यको सरकारले कोरोना मुक्त गाउँ कार्यक्रम ल्याएपछि गरिएको हो ।

बुधबार मुख्यमन्त्री उद्धव ठाकरेले राज्यको ग्रामीण क्षेत्रमा कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न कोरोनामुक्त गाउँ कार्यक्रमको घोषणा गरेका हुन्। यस कार्यक्रममा सहभागी हुने गाउँले कोरोना नियन्त्रण गरी पहिलो भए ५० लाख भारतीय रुपैयाँ पाउने भएको हो।

कार्यक्रमअन्तर्गत कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा राम्रो काम गर्ने हरेक क्षेत्रका तीन वटा पञ्चायती गाउँलाई पुरस्कार दिइनेछ।

पहिलो हुने गाउँलाई ५० लाख, दोस्रोलाई २५ र तेस्रोलाई १५ लाख भारू दिइनेछ।

महाराष्ट्र राज्य ६ क्षेत्रमा विभाजन गरिएको छ। त्यहाँका लागि १८ वटा पुरस्कार तोकिएको छ। सरकारले नगद पुरस्कारको लागि ५।४ करोड भारतीय रुपैयाँ छुट्याएको छ।

यस कार्यक्रममा सहभागी हुने गाउँका लागि २२ वटा मापदण्ड तोकिएका छन्। गाउँको मूल्यांकन गर्न कमिटीसमेत गठन गरिनेछ।

उद्धव ठाकरेले आइतबार महाराष्ट्रका सबैभन्दा कान्छा सरपञ्च २१ वर्षीय रुतुराज देशमुखको तारिफ गरेका थिए। सोलापुर जिल्लास्थित उनको घाट्ने गाउँमा अहिलेसम्म कोरोनाभाइरसका कुनै संक्रमित देखिएका छैनन्।

मंगलबारमात्रै महाराष्ट्रमा १४ हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु