काठमाडौं । झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल हप्तामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने निर्णयसमेत भएको छ ।

यो पनि, रुपन्देहीमा आगामी जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने बाहेक अन्य नियमहरू पूर्ववत रहनेगरी व्यवस्था मिलाइएको छ ।

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधन तथा अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको हो ।

प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुने, मानिस भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ ।

सम्बन्धित खबरहरु