बाल जोशी । अमेरिकामा तीन प्रकारका ‘समाजसेवी’ छन्।

पहिलो: आफू सिन्को नभाँच्ने तर अरूले गरेको कामलाई आफूले नै गरे जस्तो गरेर दुनियाँलाई झुक्याईरहने। यो वर्गका सेवकहरू आसन र भाषणमा बढी निर्लिप्त हुन्छन्। यिनीहरू पद पाउन जुनसुकै हदसम्म पनि जान्छन्। यिनीहरूलाई लाग्छ कि सेवा गर्न पद नै चाहिन्छ।

दोस्रो: सानो काम गर्ने तर फेसबुक र अनलाइन मिडियाहरूमा के- के न गरेको जस्तो भ्रम पारेर हल्ला फिँजाईरहने। यो वर्गकालाई झुटो नै सही, तर वाह-वाही अति आवश्यक हुन्छ। आफैंलाई पढ्न लाज लाग्नेगरी आफ्नै तारिफ लेख्न लगाएर समाचारमा यो वर्गका सेवकहरू भद्दा प्रचारमा आउन मन पराइरहन्छन्। यिनीहरूलाई लाग्छ कि, ‘स्वप्रचार’ नै जीवनको सबैथोक हो।

तेस्रो: यो वर्गका समाजसेवकहरु काममा विश्वास गर्छन्। आसन, भाषण र झुटा आश्वासनबाट यिनी चार कोष टाढा बस्छन्। सस्तो प्रचारलाई ‘इग्नोर’ गर्दै चुपचाप काम गरिरहने। न त प्रचारको मोह, न त पदको लोभ। न त खादा मालाको रहर, न त तक्माको तृष्णा। पर्दा पछाडि बसेर काम गर्नमै सन्तोष मान्ने यो वर्गका एक चरित्रको नाम हो सन्तोष सापकोटा।

अमेरिकाको एरिजोना राज्यमा बस्ने सन्तोष धेरै हल्ला नगरी आफ्नै ढङ्गले चुपचाप नेपालका लागि सहयोग बटुलीरहन्छन्। विगत ६ वर्षमा मात्र सन्तोषको संलग्नतामा करीब ५० करोडभन्दा बढीको सहयोग नेपाल पठाई सकिएको छ। ‘नेपालमा रहेका कसै एकको जीवनमा थोरै मात्र प्रभाव पार्न सकिए जीवन सार्थक झैँ लाग्छ,’ आफ्नो लगावलाई सरल तरिकाले उनी व्याख्या गर्छन्।

नेपालको तत्कालीन कास्की जिल्लास्थित तारकांगमा बाल्यकाल बिताएका सापकोटाको समाजसेवाको यात्रा उनी माध्यमिक स्तरमा पढ्दादेखि भएको हो।

आफ्नै विद्यालयका दृष्टिविहीन विद्यार्थीको वार्षिक परीक्षामा सन्तोषले लामो समयसम्म सहयोग गरे। ‘त्यतिबेला दृष्टिविहीन विद्यार्थीका लागि उनीहरूले मौखिकरुपमा उत्तर दिए पनि कसैले उत्तर लेखिदिनु पर्थ्यो। मैले त्यो काम लामो समयसम्म गरेँ, सेतोपाटीको एक भेटमा सन्तोषले विगत सम्झिए।

अस्पतालमा रगतको अभावमा छटपटिएका बिरामी र उनीहरूका परिवारलाई सहयोग गर्न सन्तोषले ‘मोबाइल ब्लड डोनर लिस्ट’ तयार गरे। बिरामीको आवश्यकता अनुसार ‘म्याचिङ डोनर’ को खोजी गरी कसैको ज्यान जोगाउने यो अभियानले सन्तोषलाई जीवनभरिको सन्तोष दिएको छ।

‘कति बिरामीलाई सहयोग गरियो भनेर हिसाब त राखिएन तर सङ्कटमा भएकाहरूको बेला समाधान बनियो,’ भनेर भनिरहँदा सन्तोषको आत्मसन्तुष्टि मुहारभरि प्रस्ट देखिन्छ।

सेवामै जीवन बिताउने लक्ष्य बनाएका सन्तोषले आफ्नो उच्च अध्ययन पनि त्यस्तै रोजे। मणिपाल कलेज अफ मेडिसिनबाट एमबिबिएस सकाएर स्थानीय अस्पतालमा कार्यरत रहँदै, समयले अमेरिका ल्याईपुर्‍याएका सन्तोषको जीवनले नयाँ गोरेटो समात्यो।

अमेरिकामा आएर मेडिसिनमै उच्च अध्ययन गर्ने योजना बनाएका उनको योजनाले तब रूप बदल्यो जब उनलाई स्वास्थ्य क्षेत्रसँग जोडिएको सूचना विज्ञान सम्बन्धित अध्ययनले बढी आकर्षित गर्‍यो। हाल उनी युनिभर्सिटी अफ एरिजोना अन्तर्गतको कलेज अफ मेडिसिनमा सहायक प्राध्यापकका रूपमा कार्यरत छन्। यस अलावा, सन्तोष एक ‘हेल्थ इन्फर्मेशन टेक्नोलोजी डिपार्टमेन्ट’ मा विज्ञको रूपमा काम गर्छन्।

स्थायीरूपमा अमेरिका छिरेको सात वर्षपछि सन्तोषको सेवा भाव पुनः फुटेर आयो। जब सन् २०१५ को अप्रिल महिनामा नेपालमा महाभूकम्पले जीवन तह-नहस बनायो।

नेपालमा रहेका बा-आमा अनि आफन्तजनहरू जीवित रहेको वा नरहेको थाह भएन। मनमा अनेक डर र शङ्काले खेलिरह्यो। त्यो त्रासदीपूर्ण अन्योलले सन्तोषमा एक प्रणको जन्म दियो- ‘यदि मेरा परिवारहरू जीवित छन् भने म मेरो बाँकी जीवन अरूको मद्दतमा बिताउने छु’ त्यो कालो कहालीलाग्दो क्षण सन्तोषले सम्झिए।

नभन्दै, उनको प्रण सायद दैवले सुनेछ। सन्तोषका सबै नजिकका परिवारहरू कुशल भएको खबर आयो। त्यसको लगत्तै उनी आफू नै कार्य समिति सदस्य रहेको संस्था ‘अमेरिका नेपाल मेडिकल फाउन्डेसन’ को नाममा नेपालका लागि सहयोग माग्ने क्रम सुरु भयो। र, त्यो क्रम आजसम्म जारी छ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको कार्य समिति सदस्यदेखि दुई पटक सभापतिको पदमा कार्यरत रहेका सन्तोषको पहलमा नेपालका विभिन्न स्वास्थ्य चौकीको निमार्ण/पुनर्निर्माण, जिल्ला अस्पतालको सहयोग र सातै क्षेत्रहरूमा अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यको समेत सुरुवात भयो।

हाल कोभिड महामारीले ग्रस्त नेपाल र नेपालीको मद्दतका लागि उनी भेन्टिलेटरहरू, अक्सिजन कन्सनट्रेटरहरु र अनि स्वास्थ्य सामग्रीहरूको जोहोमा लागेका छन्। उनैको पहलमा महावीर पुन प्रमुख रहेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत सयौँ अक्सिजन कन्सनट्रेटरहरु वितरणको प्रक्रिया सुरु भैसकेको छ।

सन्तोषकै मिहिनेतका कारण अमेरिकास्थित ‘ग्रेडियन हेल्थ’ नामक संस्थाले नेपालका बिभिन्न अस्पतालहरुमा करिब ६ करोड भन्दा बढी लागतका पचास वटा भेन्टिलेटरहरू उपलब्ध गराउने भएको छ।

यसअघि विश्व विख्यात स्ट्यान्ड फोर्ड युनिभर्सिटी सँगको सहकार्यमा सन्तोष र उनको समूहले दुई करोड बराबरको सामग्री राष्ट्रिय आविष्कार केन्द्रका नाममा नेपाल पठाएको थियो।

राष्ट्रिय आविष्कार केन्द्रको सल्लाहकारको भूमिकामा रहेका सन्तोष र उनको समूहले केन्द्र प्रमुख महावीर पुनका अमेरिकाका सबै गतिविधिहरू सञ्चालन र ब्यवस्थापन गरिरहेको छ। आफैंले बनाएको ‘ईभा टेली हेल्थ’ नामक सफ्टवेयर अनुदानमा दिए पछि आविष्कार केन्द्रसँग सन्तोषको औपचारिकरुपमा सुरुवात सम्बन्ध स्थापना भएको थियो

अरूले गरेन भन्दा आफूले नगरेकोमा पछुताउने सन्तोषको बानीले उनलाई नेपाल र नेपालका लागि सहयोग मागिरहने वातावरण बनाइरह्यो। चर्चामा आउन सहयोगको ढोँग गर्नेहरूको भिडबाट छुट्टिने भएर नै होला- सन्तोषले सहयोगको याचना गरेको घन्टौँ भरमा हजारौं डलरको सहयोग उठ्छ। ‘मैले आफ्नो लागि मागेको हैन, दुःखमा परेका नेपालीका लागि मलाई सहयोगको याचना गर्दा लाज लाग्दैन,’ एक-आध अपपादबाहेक सबैले मागेको बेलामा अघि सरेको अनुभव सन्तोषसँग छ। ‘नभए ५-६ वर्षमा ५० करोड भन्दा बढी सहयोग कसरी जुटाउन सकिन्थ्यो र ?,’ उनी थप प्रस्ट्याउँछन्।

एकातिर आर्थिक रकम सङ्कलन गरेर नेपालको स्वास्थ्य स्थितिमा सन्तोषले मद्दत गरिरहेका छन् भने अर्को तिर उनले विविध विषयमा नेपालीको जनचेतना अभिवृद्धिमा समेत काम गरिरहेका छन्।

सामाजिक सञ्जालको प्रयोगलाई ‘समयको बरबादी’ का रूपमा नलिई चेतना फैलाउने अभिप्रायले सन्तोषले ‘टिकटक’, युट्युब तथा फेसबुकमा विविध सामग्रीहरू प्रस्तुत गरिरहेका हुन्छन्। टिकटकमा उनका १ लाख तीस हजार ‘फलोअर’ छन्। हालसम्म नौ मिलियन भन्दा बढी ‘लाइक’ हरू उनका भिडियोलाई प्राप्त भएको छ। मनोरज्ननमार्फत सामाजिक विषयहरूमा प्रहार गरिरहने सन्तोषको यो कार्यमा उनकी पत्नी अमिताको मुख्य भूमिका छ।

सन् २००७ को फेब्रुअरी महिनामा प्रेम दिवसकै दिन अमेरिकाको सिकागोस्थित एक अदालतमा विवाह बन्धनमा बाँधिएका अमिता-सन्तोषको जोडी एक छोरा र छोरी सहित विगत १० वर्ष देखि एरिजोना राज्यमा बसोबास गरिरहेको छ। उनीहरु टिकटकमा समेत भाइरल छन् । उनीहरुको अभिनयको तारिफ सर्वत्र छ ।

पति, पिता र पूर्णकालिन जागिरेको भूमिकामा रहेका सन्तोषलाई समाजसेवाका लागि समय निकाल्न आफ्नो परिवारको समयबाट ‘सापटी’ लिनुपर्ने हुन्छ। ‘अरूको मुख ताकेर बसेँ भने त्यो काम कहिले पनि हुँदैन। मैले गर्न सक्ने काम मैले नै गर्नु पर्छ’ अमेरिकामा गरिने स्वयंसेवी कार्य परिवारका लागि महँगो परे पनि आफू त्यसमा लागिरहनुको प्रस्टीकरण उनले दिए।

क्राउडफडिङ मार्फत लाखौँ डलरको सङ्कलन र सहयोग, स्ट्यान्ड फोर्ड युनिभर्सिटी सँगको सहकार्य अनि ग्रेडियन हेल्थ मार्फत करोडौँ बराबरका भेन्टिलेटरहरूको सङ्कलन लगायतका विविध कार्यहरू सन्तोष बिना प्रचार चुपचाप गरिरहेका छन्। कारण? ‘आडम्बरले सजिसजाउ पहिचान बनाउन मैले सहयोग गरिरहेको छैन। मैले त आफ्नो मनको आवाज सुनेको मात्र हो,’ सन्तोषको सन्तोषी उत्तर यही हो। साभार : सेतोपाटीबाट

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु