काठमाडौं । रोल्पा, रुन्टिगढी गाउँपालिकामा किशोरीसँग बलपूर्वक सम्बन्धको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई त्यस्तो गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् ।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक सुवेदीका अनुसार सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा पौडेलले गलत्त व्यवहार गरेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख छ ।

सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै गम्भीर अपराध भएकाले प्रहरीले कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा राखिएको छ ।

एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले त्यस्तो हर्कत गरेको जाहेरीमा उल्लेख गरिएको छ । युवती कोरोना सङ्क्रमित रही होम आइसोलेशनमा बस्दै आएकी छिन् ।

सम्बन्धित खबरहरु