काठमाडौं । इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् ।

दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो ।

वीरमान र उहाँकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उहाँहरु घर फर्किसक्नुभएको प्रहरीले जनाएको छ ।

यो पनि, पसलको ताला फुटाई चोरी गर्ने सप्तरीका तीन आरोपितलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पसलमा जडित सिसी क्यामेराको फुटेजसमेतको आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका–५ का महेशकुमार यादव, वडा नम्बर–१ का २१ वर्षीय रामदास यादव र राजविराज नगरपालिका–६ का १९ वर्षीय सुभाष यादव पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।

सिसी क्यामेराबाट महेशको पहिचान भएपछि उनलाई घरबाटै पक्राउ गरी सोधपुछ गर्दा रामदास र सुभाष समेत चोरीमा संलग्न रहेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

गत आइतबार राजविराज–४ स्थित बजारमा रहेको राधेश्यामकुमार साहको मोवाइल पसलबाट मोबाइलहरु चोरी भएको थियो ।

बजारका दिलिप यादवको घरमा पसलसटर भाँडामा लिई साहले सञ्चालन गरेको मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल चोरी गरेको आरोपितहरुले स्विकारेको प्रहरीले जनाएको छ । सुभाषको घर खानतलासी गर्दा चोरीका १० थान मोबाइल समेत फेला परेको प्रनाउ काफ्लेले बताउनुभयो ।

प्रहरीका अनुसार रामदासले चलाउने सिटी रिक्सामा चढेर गएका उनीहरुले पसलको सटरको ताला फुटाई मोबाइलहरु चोरी गरेका थिए । सोही सिटी रिक्सामा राखेर ल्याएको मोबाइल सुभाषको कोठामा रहेको खाट मुनी लुकाएर राखेका थिए ।

प्रहरीले मोबाइलहरुसहित चोरीमा प्रयोग भएको सिटी रिक्सा समेत बरामद गरेको छ । चोरी मुद्दा कसुरमा उजुरी दर्ता गरी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु