काठमाडौं । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिनुएको हो ।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उहाँलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गर्नुभयो ।

लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहततर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांगे्रसका तर्फबाट उहाँ निर्वाचित हुनुभएको थियो ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

यो पनि, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताउनुभएको छ ।

प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले आज बिहान गरेको भर्चुअल बैठकमा उहाँले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उहाँले बताउनुभयो ।

कोभिड–१९ बाट प्रेसजगत्मा परेको प्रभाव, पत्रकारका लागि उपचार तथा राहत, प्रेस काउन्सिलले गर्नुपर्ने कामका विषयमा प्रेस काउन्सिलले भर्चुअल छलफल आयोजना गरेको काउन्सिलका सदस्य गणेश पोखरेलले बताउनुभयो ।

छलफलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, महासङ्घका प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासङ्घका जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

पत्रकार महासङ्घका प्रदेश अध्यक्ष घिमिरेले कोभिडबाट प्रभावित सञ्चारकर्मीका लागि लेखनवृत्ति दिइनुपर्ने माग गर्नुभयो ।

महासङ्घका प्रदेश सल्लाहकार मोहन काजीले कोभिडका कारण बन्द हुन पुगेका पत्रपत्रिकाको डिजिटल संस्करण व्यवस्थित गर्नका लागि पत्रिकाले पाउँदै आएको लोककल्याणकारी सुविधा एक वर्षसम्म स्वतः उपलब्ध गराउन सुझाव दिनुभयो ।

सम्बन्धित खबरहरु