काठमाडौं । नेपालमा एक दुर्लभ शल्यक्रिया गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छातीमा १२ इञ्च रड छिरेका घाइतेको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको हो ।

जेठ ११ गते करिब ४ बजेतिर कोखाबाट रड छातीभित्र छिरेका एक व्यक्तिलाई उपचारको लागि आकस्मिक कक्षमा ल्याइयो ।

झापाका ३८ वर्षीय ती पुरुषको स्वास्थ्य अवस्था एकदमै गम्भीर थियो । उनको देब्रेपट्टी कोखाबाट १२ इञ्चको रड छातीभित्र छिरेको थियो ।

चिकित्सकहरुको टोलीले एक्स रे, सिटी स्क्यान र थप जाँचहरु गर्दा तत्कालै अप्रेशन गर्नुपर्ने देखियो ।

उनलाई अप्रेशन थिएटरमा पुर्याएर अप्रेशन गर्ने बेला जिन एक्स्पर्टबाट गरिएको परीक्षणमा घाइते कोरोना पोजेटिभ देखिए ।

अब के गर्ने भन्ने अन्योलताबीच चिकित्सकहरुको टोलीले तत्कालै अप्रेशन थाल्यो । तिनै घाइते करिब १० दिनको उपचारपश्चात् गत शनिबार पूर्ण निको भएर घर फर्किए ।

उनी अस्पतालबाट डिस्चार्ज भइसकेपछि मात्र प्रतिष्ठानले औपचारिक जानकारी गराएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार यो एकदमै जटिल शल्यक्रिया थियो ।

उनले भने, ‘ओटी टेबलमा बिरामी पुगेपछि कोरोना भएको रिपोर्ट आयो, तर पनि चिकित्सकहरुको टोलीले स्वास्थ्य मापदण्ड अपनाएर तत्कालै अप्रेशन गरेको हुनाले ज्यान जोगियो ।’

घरको भित्ता प्लाष्टर गर्दा गर्दै ती व्यक्ति ६ फिट उचाईबाट खस्दा कोखामा रड छिरेर गम्भीर घाइते भएका थिए ।

सम्बन्धित खबरहरु