काठमाडौं । जहाज उडानको समय कुनै अप्रिय घटना नहोस् र यात्रुलाई सहयोग गर्न जहाजमा एयर होस्टेजको ब्यवस्था गरिएको हुन्छ ।

तर उनै एयर होस्टेज (परिचारिका) ले उडानमा लापरबाही गरेको भेटिए पछि कारवाहीमा परेका छन् ।

नेपाल वायुसेवा निगमको जहाज ३५ हजार फिट माथि उडेको थियो । त्यो बेलामा परिचारिका जहाजको ढोकामा बस्नुपर्छ ।

सतर्क अवस्थामा बस्नुपर्ने परिचारिकाहरु जहाजको ढोकाको वास्ता नगरेर एकै ठाउँ जम्मा भएर रमाइलो गरेको भेटिएपछि ४ जनालाई कारवाही गरिएको छ ।

वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजकी परिचारिका निलीमा शाहीको जन्मदिन परेका थियो ।

जहाजमा भएका ४ जना परिचारिकाले एकै ठाउँ जम्मा भएर जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो।

कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा हुन्।

निगमले उनीहरूलाई तीन महिनासम्म उडानमा संलग्न नगराउने निर्णय गरेको छ। निगमका अनुसार केक काट्ने बेला जहाज ३५ हजार फिट उचाइमा थियो।

उक्त उचाइका बेला चारवटै ढोका एयर परिचारिकाले छाड्न मिल्दैन। तर जन्मदिन मनाउँदा ताली बजाउन एयर होस्टेसहरू एकै ठाउँ जम्मा भएको भन्दै निगमले चारजनालाई कारबाही गरेको हो। ग्याली नं १ (ककपिटपछाडि र बिजनेस क्लासअघिको खाली ठाउँ) मा केक काटिएको थियो।

जहाजमा फस्ट पाइलट अरबिन्दराज पहाडी र कोपाइलट राकेश काफ्ले थिए। एयर होस्टेसले पाइलटलाई पनि केक दिएका थिए।

उडान प्रोटोकल मिचेका कारण चारजना एयर होस्टेसलाई कारबाहीस्वरूप तीन महिनासम्म काम गर्न रोक लगाइएको निगम प्रशासनको भनाइ छ। नागरिक दैनिकबाट

 

सम्बन्धित खबरहरु