
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी कार्यविधि बनाएर पेस गर्न यातायात ब्यवस्था विभागलाई निर्देशन दिएको छ । राजधानी लगायत मुख्य सहरमा सञ्चालित ट्याक्सी अब्यवस्थित भएको र ब्यवसायीको मनोमानी बढेको भन्दै सरकारले ‘क्याब सिस्टम’मार्फत चलाउने तयारी गरेको हो । अधिकांश विकसित मुलुकमा ‘क्याब’ प्रणाली छ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका ट्याक्सीमात्र यो प्रणालीमा गएका छन् ।
मन्त्रालयले क्याब प्रणाली लागू गर्नेबारे आवश्यक अध्ययन र तयारी गर्न विभागलाई निर्देशन दिएको मन्त्रालयका उपसचिव नविनकुमार पोखरेलले बताए । यो प्रणालीबाट सञ्चालन भए ट्याक्सीले ठगे वा अनियमितता गरे कम्पनी जिम्मेवार हुन्छन् ।
मन्त्रालयका उपसचिव पोखरेलका अनुसार सरकारले काठमाडौ उपत्यकामा चाहिने ट्याक्सीको संख्याबारे अध्ययन गरिरहेको छ ।