काठमाडौं । चीनले जी–७ समूहको बेलायतमा जारी बैठकलाई लक्षित गर्दै दिएको बयानले नयाँ हंगामा शुरु भएको छ ।

चीनले साना देशका समूहले विश्वको भविष्य निर्धारण गर्ने दिन सकिएको भन्दै दिएको बयानले सबैलाई हैरान बनाएको हो ।

चीनको विश्वव्यापी प्रभावलाई कम गर्न जी–७ समूहले संयुक्त अवधारणा ल्याएको चर्चा भइरहेको छ ।

यसै सन्दर्भमा चिनियाँ दूतावासका प्रवक्ताले उक्त विचार दिनु भएको हो । अमेरिकाको प्रस्तावमा जी–७ समूहले चीनले विश्वका विभिन्न विकासोन्मुक देशमा भौतिक संरचना निर्माण गर्न अगाडि बढाएको वान बेल्ट रोड (बीआरआई) योजनाको प्रतिस्पर्धामा यी देशमा बृहत् स्तरमा लगानी गर्ने तयारी थालेको छ ।

चीनको बढ्दो प्रभाव रोक्न पश्चिमा शक्ति एक भएर लाग्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धारणा रहेको छ ।

चीनको वान बेल्ट रोड (बीआरआई) को विकल्पका रूपमा अमेरिकाले विल्ड व्याक वेटर वर्ल्ड (बी३डब्लु) योजना अगाडि सारेको छ ।

बिआरआईले विभिन्न देशमा रेल, सडक तथा बन्दरगाह निर्माणमा सहयोग गर्दै आएको छ । तर यो सहयोगले कतिपय देश ठूलो ऋणको भारमा परेका छन् ।

लन्डनस्थित चिनियाँ राजदूतावासका एक प्रवक्ताले भने, ‘साना देशले विश्वका बारेमा निर्णय गर्ने दिन गइसकेका छन् । साना, ठूला, धनी, गरिब सबै राष्ट्र समान छन् र आपसी छलफलमार्फत विश्वका विभिन्न ज्वलन्त समस्याको समाधान हुनु पर्दछ ।’

शनिबार विश्वका धनी राष्ट्र समावेश रहेको जी–७ समूहले उनीहरूको पूर्वाधार विकास योजना साझेदारिता ‘मूल्यमा आधारित, उच्चस्तरका र पारदर्शी’ हुने बताएका थिए। तर यो योजना कसरी कार्यान्वयन हुनेछ भनेर विस्तृत जानकारी दिइएको छैन । यी हुन् चीनसँग भिड्नका लागि तयारी गर्दै गरेका जी–७ देशहरु

  • क्यानडा
  • फ्रान्स
  • जर्मनी
  • इटली
  • जापान
  • बेलायत
  • अमेरिका

सम्बन्धित खबरहरु