काठमाडौं । नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धर र रेजिना उप्रेती एकपटक पुनः चर्चामा आएका छन् ।

उनीहरु नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल निशा घिमिरेको परिवारलाई आर्थिक सहयोग प्रदान गरेपछि चर्चाको पात्र बनेका हुन् ।

‘कलाकारलाई कलाकारको साथ’ भन्ने आह्वानका साथ मानन्धरले निशाका पिता प्रेम प्रसाद घिमिरेलाई २५ हजार नगद सहयोग प्रदान गरिन् ।

अर्कोतिर चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष उप्रेतीले १० हजार परिवारलाई हस्तान्तरण गरिन् ।

साथै, उनले अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार र अमेरिकामै रहेका प्रकाश थापाले पठाएको १० हजार रुपैयाँ पनि निशाका पितालाई दिएकी छिन् ।

विगत तीन वर्षदेखि भारतमा दुर्घटनामा परेर जिउँदो लाश बनेकी निशालाई राहत नर्भिक अस्पतालले निःशुल्क उपचार गर्ने बताइसकेको छ ।

उनको उपचारमा अहिलेसम्म ३० लाख भन्दा धेरै सकिएको परिवार बताउँछ । अभिनेत्री आँचल शर्माले पनि एक लाख सहयोग निशाको परिवारलाई दिएकी छिन् ।

 

सम्बन्धित खबरहरु