काठमाडौं । जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ बर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ ।

आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङगो तारमा करेन्ट लाग्दा उहाँ घाइते हुनुभएको थियो ।

घाइते बास्कोटाको उपचारको क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लामा हात्ती धपाउन लगाइएको विजुलीको तारबाट करेन्ट लागेर यस अघि चारजनाको मृत्यु भएको छ ।

जसमध्ये दुई जना बुद्धशान्ति गाउँपालिकाकै रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

यो पनि, पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ ।

पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न सङ्घीय सरकारले रु एक करोड ५५ लाख बजेट विनियोजन गरेको थियो ।

सो रकममध्ये अक्सिजन प्लान्टका लागि रु ७५ लाख तथा एचडियू निर्माणका निम्ति रु ८० लाख बजेट निकासा भएको पूर्वमन्त्री तथा सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिनुभयो । सरकारले पाल्पासँगै देशका छ अस्पतालमा थप स्वास्थ्य सेवा विस्तारका निम्ति रकम निकासा गरेको छ ।

सरकारले पाल्पाको रामपुर अस्पताल, म्याग्दीको बेनी अस्पताल, रुकुम पूर्वको रुकुम अस्पताल, प्यूठान अस्पताल बिजुवार, रोल्पा अस्पताल र चौरजहारी अस्पालका निम्ति अक्सिजन प्लान्ट खरीद तथा जडान, पाँँच शय्याको एचडियू, ५ शैंयाको आइसियू र दुईवटा भेन्टिलेटर जडान गर्न स्रोत सहमति माग भएअनुसार रु सात करोड ७० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि बजेट विनियोजन भएको खवरले निकै खुसी लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले बताउनुभयो ।

विभिन्न चार जिल्लाका दैनिक करीब ३०० नागरिकले सेवा लिने कुरा निकै खुसीको विषय भएको बताउनुभयो ।

सम्बन्धित खबरहरु