काठमाडौ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले सीमा रक्षा र जनताको जीउ धन रक्षा नै आफ्नो प्रमुख लक्ष्य रहेको घोषणा गर्नुभएको छ ।

सशस्त्र प्रहरी बलले माटो पक्रिएर जोगाइरहेको मेरो प्यारो मातृभूमि नेपालको एक इन्च माटोमा समेत रक्षाकवज राख्न आफ्नो सम्पूर्ण ध्यान रहने उहाँको भनाई छ ।

मंगलबार मन्त्री नियुक्तिपछि पत्रकारहरुसँग पहिलो पटक कुरा गर्दै उहाँले सीमा सुरक्षा बललाई शक्तिशाली, दक्ष र क्षमतावान बनाउन आफ्नो ध्यान रहने बताउनुभयो । अहिले कोरोना भाइरसको महामारी छ ।

बजेट र समय कोरोना महामारी नियन्त्रणमा केन्द्रीत छ । तत्काल मेरो ध्यानपनि त्यतै छ । तर महामारी अस्थायी हो ।

यो सकिएपछि दिर्घकालिन समयसम्म सीमा रक्षाको ठोस कदम र राज्यको लगानीका लागि म सरकारलाई नै केन्द्रिकृत गर्नेछु मन्त्री अधिकारीले बताउनुभयो ।

उहाँले आफू मन्त्री भएलगत्तै १ सय २० वटा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (विओपी) थप गर्ने निर्णय लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो अब विओपी सीमा भन्दा १० किलोमिटर टाढा हैन सीमा क्षेत्रमा नै बन्छ ।

ऐलानी जग्गामा हैन । सरकारीकरण गरिने जग्गामा नै स्थायी सीमा पोष्ट बन्नेछन् । माटोको रक्षाका लागि खटिएको नेपाली सपूतलाई केही भयो भने सारा नेपाली रुन्छन् ।

मेरो मन थामिदैन । बरु हामीलाई केही भए केही हुन्न तर सीमा सुरक्षामा खटिएको नेपाली छोरोलाई रक्षाका लागि बलियो कवज तयार गर्न म लाग्नेछु । यसो भनिरहँदा उहाँ केही भावुक समेत बन्नुभएको थियो ।

पत्रकार भेटघाटमा उहाँले दार्चुलामा महाकाली नदीले धार परिवर्तन गरेर २ सय विघा जमिन भारततर्फ पारेको र १५० मिटर बाटो पुरियो जानकारी आएको बताउनुभयो ।

२ सय विघा जमिनमा भारतले बनाउन लागेको संरचना रोक्न सत्यतथ्य सहित परराष्ट्र मन्त्रालयसँग समन्वय गरिसकेको र भारतले बाटो बनाउँदा १५० मिटर नेपाली भूमिको बाटो पुरिएका कारण तत्काल खुलाउन कुटनैतिक पहल गर्न परराष्ट्र मन्त्रालयसँग समन्वय भएको बताउनुभयो ।

गृहको संरचनाले त्यहाँ के भइरहेको छ सबै तथ्य लिइसकेको छ त्यो परराष्ट्र मन्त्रालयमा पठाइएको छ । तत्काल कुटनैतिक नोट लेखेर सरकारले त्यसको रक्षाका लागि पहल थाल्नेछ । गृह मन्त्रालय निरन्तर समन्वयमा छ उहाँले भन्नुभयो ।

उहाँले तत्कालिन नेकपा एमालेको महाकाली सन्धि अध्ययन समितको आफू सदस्य रहेकाले सीमामा हुने समस्या बारे राम्रो जानकार भएको दावी गर्नुभएको थियो ।

त्रिदेशीय सीमा छुट्याउन अझै बाँकी छ हामी छिमेकी (मित्रराष्ट्र) लाई चिड्याएर हैन सम्वाद र मित्रवत् व्यवहार मार्फत दुबै तर्फको खुशी–खुशीमा सीमा विवाद हल गर्नेछौ ।

उहाँले विगतका शासकसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी कदमको स्मरण गर्नुभयो । काम भएका विषयमा जसको बारेमा बोल्दापनि हुन्छ ।

जंगवहादुर राणाले जनताका सवालमा काम नगरेको गुनासो रहेपनि जंगे पिल्लर बनाएर देशको सीमा रक्षाको काम थालनी गरे, राजा महेन्द्रले पनि सीमा रक्षाका लागि केही राम्रै कदम उठाए ।

मरिचमान सिंह (श्रेष्ठ) प्रधानमन्त्री हुँदापनि भारतसँग जुधेको इतिहास हामीसँग छ ।

इतिहासमा केपी शर्मा ओलीले गुम्न लागेको भूमि आफ्नो देशको नक्सामा ल्याएर भूमि फिर्ताका लागि लगातर गरिरहेको प्रयास इतिहाससम्मपनि भुल्न नसकिने भएको उहाँको बुझाई थियो । पुस्तौ पुस्ताले प्रधानमन्त्री ओलीको कामको प्रसंशा गर्नेछन् उहाँले भन्नुभयो ।

उहाँले दुई देशबीचको सम्बन्ध सदावहार एकै नरहने भएकाले स्थायी रुपमा सीमा विवाद हल गर्न अहिलेको सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।

तर हाम्रा सबै कदम मित्रवत रुपमा हुनेछन् । भारत हाम्रो मित्र हो । यसैले मित्रताका आधारमा नै सीमा विवाद हल हुनेमा अहिलेको सरकार विश्वस्त छ उहाँले विश्वास व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु