काठमाडौं । सिन्धुपाल्चोकस्थित इन्द्रावती र मेलम्ची नदीमा आएको बाढी मेलम्चीको ठूलो बजार क्षेत्रमा पसेपछि स्थानीय जनजीवन अस्तव्यस्त बनेको ।

मेलम्ची बजारमै बाढी पसेपछि स्थानीयहरु यतिबेला घर छाडेर भाग्न बाध्य भएको स्थानीय पत्रकार देवराज सुवेदीले जानकारी दिएका छन् ।

पत्रकार सुवेदीले भने, ‘बाढीका कारण ज्यान जोगाउनै हम्मेहम्मे परेको छ ।

जनजीवन अस्तव्यस्त छ, के कति क्षति भयो भन्न सकिने अवस्था छैन । राति भएकाले उद्धार तथा अन्य सहयोगको पनि कुनै सम्भावना देखिँदैन ।’

हाल प्रभावित क्षेत्रमा दुई घण्टादेखि भागाभागको अवस्था रहेको छ । बाढीका कारण विद्युत सेवा समेत अवरुद्ध हुँदा जनजीवन थप प्रभावित भएको छ ।

मंगलबार दिउँसोदेखि आएको अविरल बर्षाका कारण इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याममा समेत क्षति पुर्याएको छ ।

मेलम्चीको पानी काठमाडौं ल्याउन प्रयोग हुने ड्याम समेत आज दिउँसो खोलिएकाले नदीमा पानीको बहाव थप बढेको हुन सक्ने पनि पत्रकार सुवेदीले बताए ।

मेलम्चीसँगै सिन्धुपाल्चोकको हेलम्बु बजार समेत बगरमा परिणत भएको छ । त्यहाँ भीषण बाढी पसेको छ । बाढीका कारण तिम्बुमा शसस्त्र प्रहरीको ब्यारेक बगाएको छ ।

यस्तै तिम्बु बजार बगरमा परिणत भएको भने केही स्थानीय बेपत्ता भएको स्थानीय पत्रकार केशव राज पौडेलले जनाएका छन् ।

त्यहाँ अहिले नजिक रहेका स्थानीय र नजिकको प्रहरी उद्धारका लागि खटेको छ । रात परिसकेकाले हेलिकोप्टर पठाउन सकिएको छैन ।

गृहमन्त्रालयले उद्धारका लागि समन्वय गरिरहेको बुझिएको छ । अहिले देशभरी बाढीको त्रास बढेको छ ।

तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण देशभरीका नदीको वहाब बढेको छ । बाढीले ठूलो जनधनको क्षति गरिरहेकाले देशभरी सर्तक रहन गृह मन्त्रालयले आकस्मिक सूचना जारी गरेको छ ।

केही अघि साँझ पर्न लागेको बेला यस्तो थियो । अहिले भिडियो खिच्न सक्ने अवस्था छैन ।

https://www.youtube.com/watch?v=XH7BkuEHzLI

 

 

सम्बन्धित खबरहरु