काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ ।

नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो ।

यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

नर्भिक अस्पतालमा पुगी उहाँले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिनुभयो ।

सोही अवसरमा नेता खनालले महासचिव पोखरेललाई “तपाईँले पार्टी मिलाउनुहोस् कमरेड” भनी आग्रह गर्नुभएकोथियो ।

स्वास्थ्यावस्था स्थिर

नर्भिक अस्पतालमा रहँदा उहाँको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

ज्वरोसंँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

नेता खनालको फोक्सोमा पानी जमेको र सोही कारणले अक्सिजनको कमी देखिएको थियो ।

नर्भिकमा उहाँको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उहाँको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताउनुभयो ।

हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उहाँलाई मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो ।

अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

कोभिड–१९ हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको थियो ।

छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताउनुभयो ।

केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो ।

सम्बन्धित खबरहरु