काठमाडौं । नयाँ प्रावधानसहित असार १ गतेदेखि ७ गतेसम्म निषेधाज्ञा लगाएको सरकारले त्यसपछिको लकडाउनबारे नयाँ मोडालिटी तयार पारेको छ ।

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको हो ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकाल्यो ।

यस्तै, प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

यो पनि, पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ ।

वर्षा नरोकिएका कारण पछिल्लो चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुुधवार साँझ एकतर्फी खोलिएको भए पनि वर्षा रोकिएपछि आज बिहानदेखि दुईतर्फी नै खुला भएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो । यद्यपि पहिरो पन्छाउने काम भने जारी रहेको छ ।

पर्वतमा गए रातिदेखि वर्षा रोकिएकोले सडक खुलाउन सकिएको उहाँले बताउनुभयो । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक ठप्प भएको थियो ।

सडक सञ्चालन भएसँगै चार दिनदेखि अलपत्र बनेका मालवाहक ट्रक, तरकारी तथा फलफूल, औषधि तथा अक्सिजन बोकेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

कमजोर भूभागका कारण सहस्रधारामा सामान्य वर्षा हुँदासमेत अवरुद्ध हुने गरेको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले भने वैकल्पिक सडक प्रयोग गरेका थिए ।

उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

सडक खण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको केरावारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । बुधबार दिनभर खुलाउने प्रयास भए पनि सम्भव नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु