वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले राजधानीको कमल पोखरीमा गरेको अनुगमनका क्रममा कृष्ण पाउरोटी भण्डारमा अत्यधिक फोहर पाइएपछि सञ्चालकलाई एक साता भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागका शाखा अधिकृत गीता कुमारी पन्थीको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनका क्रममा कृष्ण पाउरोटी भण्डारणमा अत्याधिक फोहर पाइएको जनाएको छ । विभागको टोलीले भण्डारलाई सरसफाइमा विशेष ध्यान दिन, व्यवसाय दर्ता, प्यान दर्ता, खाद्य अनुज्ञापत्र र नापतौल मेसिन प्रमाणित गरी सात दिनभित्र सक्कल कागजातहरु सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । टोलीले भण्डारले किचनमा रातो रंगको सिलिण्डर मात्र प्रयोग गरेको पनि जनाएको छ । त्यस्तै, अनुगमन टोलीले कृष्ण बेकरी एण्ड कन्फेक्सनरीको किचेनमा अत्यधिक फोहोर पाइएपछि तत्काल सरसफाईमा ध्यान दिन बेकरीलाई निर्देशन दिएको छ ।

कृष्ण पाउरोटीका सञ्चालक घनश्याम राजकर्णीकार हुन भने कृण्ण बेकरी एण्ड कन्फेक्सनरीका सञ्चालक उनका भतिज हुन ।
अनुगमन टोलीले किचेनमा काम गर्ने कामदारले अनिवार्य रुपमा एप्रोन सेटको प्रयोग गर्न, शौचालय अत्यधिक फोहोर देखिएकाले छुट्टै जुत्ता, पानीको व्यवस्था गर्न, नापतौल मेसिन प्रमाणित गर्न, व्यवसाय दर्ता नविकरण गर्न र खाद्य अनुज्ञापत्रको सक्कल कागजातसहित एक साता भित्र विभागमा पेश गर्न निर्देशन दिएको छ । बेकरीले किचनमा १७ सिलिण्डर प्रयोग गरेकोमा सबै रातो रंगको सिलिण्डर देखिएकाले नीलो रंगको सिलिण्डरमात्र प्रयोग गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

सम्बन्धित खबरहरु