काठमाडौ । करिब दुई महिना लामो निषेधाज्ञा अन्त्य गर्दै सरकारले स्मार्ट लकडाउन गर्ने भएको छ ।

निषेधाज्ञाले कमाएर हुँदा खाने नागरिक निकै आत्तिएपछि नयाँ अवधारणा ल्याउन लागेको हो ।

मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको र अर्थतन्त्रमा नकारात्मक असर पारेपछि सरकारले नयाँ अवधारणामा लकडाउन गर्नेछ ।

मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् ।

यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने र स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको हो ।

जसअनुसार सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने भएको छ ।

सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताइएको छ । कुन–कुन क्षेत्रमा के–के गर्न दिइने भन्नेबारे अवस्था बुझेर निर्णय गरिने सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले जानकारी दिएका छन् ।

शर्माका अनुसार असार ७ पछि पनि लकडाउनले निरन्तरता भने पाउनेछ । त्यसलाई निषेधाज्ञा भनिने छैन । त्यो स्मार्ट लकडाउन हुनेछ । स्वास्थ्यका मापदण्ड पालना गर्ने कुरामा कडाई गरिनेछ । हिडडुलमा बाधा गरिनेछैन ।

कोरोना संक्रमणदरको अवस्थाबारे विश्लेषण गरेर त्यसैअनुरुप स्वास्थ्य मापदण्डमा कडाइ गरी चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लगिनेछ बताइन्छ ।

अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइने भएको छ । स्मार्ट लकडाउन जारी भएपछि समय तोकेर विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ ।

खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिनेछ । कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ ।

यस्तै, हार्डवेयर पसल दिउसो १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मापदण्ड पालना गरी खोल्न दिइने बताइन्छ ।

 

सम्बन्धित खबरहरु