काठमाडौ । ओछ्यानमा थलिएका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका तामाङ थरका २१ वर्षीय युवक बोल्न सक्न छाडेको पाँच घण्टा वितिसकेको थियो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित दिदिको घरमा बसिरहेको अवस्थामा बिरामी परेका तामाङको स्वास्थ्य अवस्था ‘निको होला भन्दाभन्दै’ झन् जटिल अवस्थामा पुगिसकेको थियो ।

छिमेकीले थाहा पाएपछि सोमबार विहान दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईलाई खबर गरे ।

गाउँपालिका अध्यक्ष राईले एन्टिजेन परीक्षणका लागि ल्यावका स्वास्थ्यकर्मीलाई बोलाए, आफू पनि पिपिई पहिरिएर तत्काल विरामी भएका ठाउँमा पुगे ।

एन्टिजेन परिक्षणमा ओछ्यानमा हल न चल भएर लडेका तामाङलाई कोभिड–१९ बाट संक्रमण भएको पुष्टि भयो ।

गाउँपालिका अध्यक्ष राईले नै बिरामीलाई उठाए र काँधमा बोकेर गाडी रोकेर राखेको ठाउँसम्म पुर्‍याए, गाडीमा हाले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पताल पुर्‍याएर भर्ना गरे ।

बाक्य रहेको ७ घण्टापछि उनलाई गाउँपालिका अध्यक्षले अस्थायी कोभिड अस्पताल पुर्‍याएका हुन् । गाउँघरका संक्रमित घरैमा बसेर निको भएको देखेका परिवारले किशोरलाई पनि ‘आफै ठीक हुन्छ’ भनेर सिकिस्त बन्दासम्म घरैमा राखेको खुलेको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा ज्यामिरेका ५८ वर्षका राजकुमार राई फत्रक–फत्रक परिरहेका थिए । आफन्तले खबर गरेपछि गाउँपालिका अध्यक्ष एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीसहित ज्यामिरे पुगे । एन्टिजेन परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबार नै गाउँपालिका अध्यक्ष राईले गाडीमा हालेर अस्थायी कोभिड अस्पतालमा पुर्‍याएका छन् ।

यी केही उदाहरण हुन् । कोभिड–१९ को महामारीका बीचमा जेठ १४ गते यता दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष राईले जोखिम मोलेर आठ बिरामीलाई उद्धार गरेर अस्थायी कोभिड अस्पताल पुर्‍याइसकेका छन् । अध्यक्ष राई आफ्नो स्वास्थ्य सुरक्षाका लागि सेतो पिपिई गाउन पहिरिन्छन् । गाडी जाने ठाउँसम्म गाडी लिएर जान्छन् ।

र, गम्भीर अवस्थाका बिरामीलाई आफै गाडी चलाएर अस्थायी कोभिड अस्पताल पुर्‍याउने गरेका छन् । पिपिइ लगाएका कारण झट्ट हेर्दा कुनै स्वास्थ्यकर्मी वा उद्धारकर्मी जस्तो देखिने राईले घरबाट रोकेर राखेको गाडीसम्म बिरामीलाई पिठ्युँमा बोकेर पुर्‍याउने गरेका छन् ।

संक्रमितलाई देखेपछि ‘आफैलाई सर्छ’ भनेर त्रास मान्ने वा नजिक जान डर मान्ने गरेको देखिन्छ । कतिसम्म भने संक्रमण भएको पुष्टि भएपछि परिवारकै सदस्य नजिक पर्न हच्किने गरेको पाइन्छ ।

तर गाउँपालिका अध्यक्ष राई भने तिनै संक्रमित ओसार्न अघि सर्ने गरेका छन् । बिरामी भएको खबर आउने वित्तिकै बा २ झ ३८४९ नम्बरको गाडी हुइक्याएर पुग्छन् । पिपिईमा स्वास्थ्यकर्मीझैं देखिने गाउँपालिका अध्यक्ष राईको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

सिकिस्त अवस्थाका र तत्काल अस्थायी कोभिड अस्पताल पुर्‍याउनुपर्ने खालका बिरामीलाई निरन्तर उद्धार गर्ने गाउँपालिका अध्यक्ष राई बताउँछन् ।

‘मैले चर्चा वा प्रशंसाका लागि यो काम गरिरहेको छैन । यो जनप्रतिनिधिको रुपमा मेरो दायित्व पुरा गरेको मात्र हो,’ अध्यक्ष राईले भने, ‘चुनावका बेला जनतालाई बोकेर मतदान केन्द्रमा लैजाने उम्मेद्वारले चुनावमा जितेपछि समस्यामा परेका त्यही जनतालाई बोक्न पर्दैन र रु यो बेला हामीले जनतालाई साथ नदिए कसले साथ दिन्छ रु हामी चुनिएकै यस्तै कामका लागि हो ।’

गाउँपालिका अध्यक्ष राईले जेठ २९ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका कृष्ण राई, जेठ २७ गते छोरम्बु सापातेलका देवी बस्नेत, जेठ २१ गते टेम्माका कमला राई, जेठ १९ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका धनकुमारी अधिकारी, जेठ १५ गते याम्खा रातामाटाका वालकुमारी राई र जेठ १४ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रेका सावित्रा देवकोटालाई उद्धार गरेर आस्थायी कोभिड अस्पताल पुर्‍याइसकेका छन् ।

ड्राइभिङ सीप भएका गाउँपालिका अध्यक्ष राईले विरामीको उद्धारका लागि चालक खोजीरहन पर्दैन । बिरामीलाई आफै गाडीमा चढाउँछन् र गाडी हाँकेर अस्थायी कोभिड अस्पताल पुर्‍याउने गरेका छन् ।

उनले कोरोना जितेका धनकुमारीलाई जेठ ३० गते उसैगरी गाडीमा राखेर घर पुर्‍याइदिएका थिए । कोभिड अस्पतालबाट विदाइ हुँदा र घरमा पुग्दा धनकुमारीले गहभरी आँशु पारेकी थिईन् ।

सम्बन्धित खबरहरु