काठमाडौ । नेपाली सेना बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्‍न स्थानहरुमा खोज, उद्वार तथा राहत वितरण जारी राखेको छ । ठूलो जनशक्ति तथा श्रोत साधन प्रयोग गरि नागरिकको रक्षा गरेको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।

बाढी पहिरोको दौरान खोज उद्धार तथा राहत वितरण कार्यमा नेपाली सेना
बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्‍न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि तपशिल बमोजिम खोज, उद्वार तथा राहत वितरण कार्यहरु संचालन गरेको छ ।

(क) मिति २०७८/०३/०४ गते ।
(१) बाढी पहिरोको कारण विस्थापित भएका सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका - २ गणेशेबगर ईलाकामा बसोवास गर्दै आएका ४३ जना र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० जना गरि जम्मा १०३ जनालाई नेपाली सेनाको उद्धार टोलीले खाली जमीनमा अस्थायी बासस्थानको व्यवस्था गरि राहत सामाग्री वितरण गर्न सहयोग गरेको छ ।

(२) मुस्ताङ जिल्लाको घरपझोङ्ग गाउँपालिका - ४ स्याङ्ग गाउँ बस्तिमा स्याङ्ग खोलाको बहाव बढेको हुँदा खोलाको पानी बस्तीमा पस्न सक्ने देखिएकोले पुर्व तयारि अनुरुप खटिएको फौजले खोला किनारमा ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्य गरेको छ ।

(३) प्युठान जिल्लाको मल्लरानी गाउँपालिका - ३ धरमपानीस्थित बर्वोट बस्ने हिराबहादुर वि.क. छापेखोला तर्ने क्रममा खोलाले बगाई वेपत्ता भएकोमा निजको शव उद्धार कार्यमा खटिएका नेपाली सेनाको टोलीले सरुमारानी गाउँपालिका - १ बाङ्गेसालको मियावस्ती नजिक रहेको राप्ति नदिको बीच भागमा फेला पारेको छ ।

(४) मनाङ जिल्लाको विभिन्‍न स्थानहरुमा बाढी पहिरोको कारण जोखिममा परेका ८१ जनालाई नेपाली सेनाको MI-17 हेलिकप्टरद्वारा उद्धार गरि सुरक्षित स्थानमा लगिएको छ ।

(ख) मिति २०७८/०३/०५ गते ।
(१) सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका - १ स्थित याङ्ग्री ईलाकाका बाढी पहिरो प्रभावित स्थानीयवासीहरुको लागि मेलम्चीबाट नेपाली सेनाको MI-17 हेलिकप्टर मार्फत २९ जनालाई उद्धार गरि काठमाण्डौं ल्याइएको छ ।

(२) सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका - ४ स्थित गल्थुम र माझिटार ईलाकामा नेपाली सेनाको उद्धार टोलीले बाढीबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि दुई स्थानमा ७/७ वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ ।

(ग) मिति २०७८/०३/०६ गते ।
(१) गृह मन्त्रालयबाट प्राप्त भएको राहत सामग्री : चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल/टेन्ट नेपाली सेनाको हेलिकप्टर मार्फत मनाङ जिल्लाको चामे, थाचे, ओडार, ताल तथा सिन्धुपाल्चोक जिल्लाको क्युल र अन्य स्थानहरुमा ढुवानी गरेको छ ।

 

सम्बन्धित खबरहरु