रूपन्देही । पहिरोले घर पुरिँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मंगलबार राति आएको पहिरोमा परेर रोल्पा नगरपालिका(९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया छोरी श्यामकलाको मृत्यु भएको हो ।

घरमा सुतिरहेका टिकासिङसहित अन्य ३ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बिहानैदेखि टेलिफोन नेटवर्कको समस्याले सञ्चार सम्पर्क हुन नसक्दा थप विवरण आउन बाँकी छ ।

प्रहरी नायब उपरीक्षक नरेश सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

फेरि थुनियो मस्र्याङ्दी नदी
चामेमा मस्र्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो ।

थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजीकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।

गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु