काठमाडौं । सञ्चारकर्मी रूपा सुनारलाई जातका कारण कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटी रिहा भएकी छिन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार घरबेटी सरस्वती प्रधान रिहा भएकी हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको हो ।

यसअघि प्रहरीले प्रधानलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो ।

सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा प्रहरीलाई नै फिर्ता गरेको हो । जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।

यस विषयलाई लिएर समाज पनि दुई भागमा बाँडियो । सुरु सुरुमा सुनारलाई राम्रो समर्थन मिलेको भए पनि प्रधान पक्राउ परेसँगै उनका समर्थक पनि बाँडिन पुगेका थिए । घरबेटी पक्राउ परेपछि रूपा विभिन्न संघ संस्थाहरुको नजरमा परिन् ।

उनीहरुले धमाधम सुनारका पक्षमा विज्ञप्तिहरु जारी गरिरहेका छन् । यो बीचमा घरबेटी प्रधानका पक्षमा पनि वक्तव्य आउँनुका साथै सडकमा प्रदर्शन पनि भयो ।

आज मात्रै सरस्वती प्रधानले जातीय आधारमा घर भाडामा नदिएको भन्ने आरोप सुनियोजित भएको भन्दै प्रदर्शन गरिएको थियो ।

बुधबार बानेश्वरमा प्रधानलाई निसर्त छाड्नुपर्ने भन्दै स्थानीय र यल जातिय समाजका सदस्यहरु प्रदर्शन निस्के ।

मंगलबार यल जातिय समाजका २० सदस्य समाजहरू, नेपाल भाषा मंकास् खल यल, नेवा दे दबु यल, नेवा ग्वाहाली पुचस्, पिडित सरस्वती प्रधानको श्रीमान मुकुन्द प्रधान, समाजिक अभियन्ता यादव लाल कायस्थ, सामाजिक अभियन्ता राजाराम तण्डुकार लगायतको सहभागितामा बैठक बसेर बुधबार आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनमा निस्केकाहरुले प्रधानले जातीय विभेद गर्ने मनशाय नराखेको उल्लेख गरेका छन् ।

उनीहरुका अनुसार प्रत्येक घरबेटीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना,पेशा,चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको छ ।

तपाईंलाई जानकारी गराउ कि काठमाडौंको बबरमहलस्थित प्रधानले सुनारलाई जातीय आधारमा कोठा नदिएको भन्दै उजुरी दायर भएको थियो ।

सोही आधारमा प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । आज प्रमाण नपुगेको भन्दै उनलाई रिहा गरियो ।

सम्बन्धित खबरहरु