फागुन १५ गतेबाट प्रदर्शनमा आउने फिल्म हो, `अझै पनि` । `अझै पनि` गीत संगीतका कारण अहिले चर्चामा छ । स्वर्गिय निर्देशक आलोक नेम्वाङको अन्तिम कोशेली भएकाले पनि 'अझै पनि' दर्शकका लागि प्रतिक्षामा रहेको देखिन्छ ।
सामाजिक प्रेमकथाको यो फिल्ममा निर्देशक सुदर्शन थापा पहिलो पटक अभिनेताको रुपमा देखिएका छन् । निर्देशकको रुपमा सफल मानिएका सुदर्शनका लागि अभिनेता बन्नु चुनौतीको बिषय हो ।
यो फिल्म प्रदर्शन अगावै सुदर्शन अर्को एक फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् । सुदर्शन अब अभिनेताको रुपमा पनि चल्न चाहन्छन् । यसैले उनका लागि 'अझै पनि'को व्यापार र दर्शकको प्रतिकृया महत्वपूर्ण छ ।
'अझै पनि'बाट नेपाली रजतपटमा कस्ट्यूम डिजाइनर पूनम गौतम निर्माताको रुपमा भित्रिएकी छिन् । पूनम अब फिल्म निर्माणलाई निरन्तर दिने बताइरहेकी छिन् । बर्षमा एक उत्कृष्ट फिल्म बनाउने पूनमको भनाई छ ।
यो फिल्मको सफल व्यापारले पूनमको निर्मात्रीको दौडलाई अगाडि बढाउने छ । आफू हराउन नआएको पूनमको दाबी छ । त्यसैले उनी फिल्म चल्नेमा ढुक्क छिन् ।
फिल्ममा पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विपना धिमाल लगायतका कलाकारको पनि अभिनय छ । यी कलाकार पनि फिल्म क्षेत्रका लागि नयाँ कलाकार हुन् । हङकङमा आयोजित नेफ्टा अवार्ड र डी सिने अवार्डमा उत्कृष्ट नव अभिनेत्रीको अवार्ड पाएकी पूजाले पनि यो फिल्ममा आफ्नो अभिनय क्षमता देखिने बताउँछिन् ।

सम्बन्धित खबरहरु