काठमाडौ, माघ ९, जनबोली न्युज डेस्क । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान सभामा हुने दिनहुँको ताण्डव नृत्यले संविधानसभाबाट संविधान बन्ने ग्यारेण्टी सकिएको बताएका हुन् । माघ ८ टरेपछि अब संविधान निर्माण संभावना झिनो आश मात्र रहेका बताए ।
प्रक्रिया वा सहमति भन्ने लडाइले सम्पूर्ण सम्भावनाको ढोका बन्द भैसकेको भन्दै केसीले यो लडाई अन्त्य हुने सम्भावना नरहेको पनि बताए। उनले सहमति नहुनु र प्रक्रिया अवरोध गरिनुले संविधानसभाको आयु बिना उपलव्धी समाप्त हुने सम्भावना देखिँदै गएको बताए। संविधान निर्माणको बाधक एउटा दल मात्रै नभएको भन्दै सबै शीर्ष दलहरु जिम्मेवार रहेको बताए। मुख्य दोषीको रुपमा एमाओवादी मोर्चालाई उभ्याएका केसीले कांग्रेस-एमालेले पनि संविधान नबनोस् भन्ने मनसायकै कारण प्रक्रिया ढिलो सुरु गरेको आरोष लगाए। ‘पहिलो दोषी संविधानसभामा ताण्डव नृत्य नाच्ने एमाओवादीलाई जनताले चिनीसके,’ केसीले भने ‘कांग्रेस-एमालेले पनि संविधान नबनोस् भनेरै माघ ८ को मुखैमा प्रक्रिया सुरु गर्न खोजेका हुन्।’
एक अर्को प्रसंगमा केसीले तोकिएको समयमा संविधान नबन्नुलाई मुलुकले संघीयता चाहन्न भन्ने गतिलो उदाहरण बनेकोसमेत बताए। संघियताको विषयमा देखिएको विवादले नै संविधान निर्माण हुन नसक्नुको मुख्य कारण रहेको भन्दै उनले संघीयता विरोधी भनिएको आफूहरुको माग जायज प्रमाणित भएकोसमेत केसीले दाबी गरे।