काठमाडौं । पशुपतिनाथको मन्दिर मा जम्मा हुने रकम दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले पशुपति क्षेत्र विकास कोष, पूर्वसदस्य सचिवहरु, काठमाडौं जिविसका कर्मचारी र ठेकेदार गरी ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कोषका तत्कालीन सदस्य सचिवहरु निर्मल कुइकेल र सुशील नाहाटा, काठमाडौं जिविसका पूर्व स्थानीय विकास अधिकारीहरु गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्र कुमार श्रेष्ठसहित ९ जना विरुद्ध मुद्दा परेको हो ।
उनीहरुले पशुपति क्षेत्र विकास कोषको जग्गामा रहेको खानीको बालुवा ठेक्काका क्रममा करिब ४६ लाख ५६ लाख बराबरको भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।
निर्मल कुइकेल गतवर्ष भएको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट एमालेका तर्फबाट उम्मेदवार भएका थिए । नाहटा काँग्रेसको सिफारिसमा सदस्य सचिव भएका थिए ।
अख्तियारले जिविसकै तत्कालीन योजना अधिकृत भिष्म मल्ल, ठेकेदारहरु बच्चुराम दाहाल, मिठाराम दाहाललगायतलाई पनि प्रतिवादी बनाएको छ ।