काठमाडौं । इंग्ल्याण्डलाई ३–२ ले हराउँदै इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन बनेको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो ।

निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भयो ।

इंग्ल्याण्डका लागि बुकायो साका, जेदन साञ्चो र मार्कस रास्फोर्डको पेनाल्टी गोल हुन सकेन । इटालीका बेलोट्टी र जोर्गिन्होको पेनाल्टी प्रहार विफल हुन पुग्यो । यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो पटक हो ।

यसअघि सन् १९७६ मा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो । चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो । इटालीले यूरो कप फुटबलको उपाधि जितेको यो दोस्रो पटक हो ।

यसअघि उसले सन् १९६८ मा उपाधि उचालेको थियो । दोस्रो पटक यूरो कपको उपाधि उचाल्न उसले ५० वर्षभन्दा बढी समय कुर्नुपर्यो । इटाली हालसम्म चार पटक यूरो कपको फाइनलसम्मको यात्रा गरेको छ ।

सन् २००० र २०१२ मा इटाली फाइनलसम्मको यात्रा तय गरेपनि उपाधि जित्न सकेको थिएन । उता इंग्ल्याण्ड भने ३५ वर्षपछि प्रतियोगिताको उपाधि जित्ने सपना पुरा गर्न सकेन ।

सम्बन्धित खबरहरु