काठमाडौ । पूर्व मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले एमाले हराउने क्षमता भए कांग्रेस प्रवेश गरेर आउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई चुनौती दिएका छन् । बस्नेतले जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका हुन् ।

संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने सर्वोच्चको फैसलाविरुद्ध राष्ट्रिय युवा संघले माइतीघर मण्डलामा गरेको विरोध सभामा बस्नेतले जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप लगाए । बस्नेतको नेतृत्वमा उक्त कार्यक्रममा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गर्न खोजिएको थियो ।

संसदलाई ह्वीप उल्लंघनमा कारबाही गर्न पाउँदैन भन्ने आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायालयलाई अर्को राजनीतिक संस्था बनाएको उनको आरोप छ ।

‘सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ?’ उनले भने, ‘तपाईं एमालेको नेता बन्ने रहर छ भने एमालेमा आउनुहोस् । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् ।’ हामी देखाउँछौ कसरी हार्ने र कसरी जित्ने ।

जबराले अहिले देउवालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत नदिएर ढाल्ने, अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर आफू प्रधानमन्त्री बन्ने डिजाइनका साथ फैसला गरेको बस्नेतको बुझाई छ ।

बस्नेतले भनेका छन्, ‘हामी यो फैसला स्वीकार गर्दैनौं । अब मुलुक द्वन्द्वमा प्रवेश गरेको छ ।’ यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्छ ।

‘निरंकुश, लोकतन्त्र विरोधी, अधिनायकवादी शक्तिहरुले अन्तर्राष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराएका बस्नेतको आरोप थियो ।

सम्बन्धित खबरहरु