काठमाडौं । सहमतिमा संयुक्त सरकार बनाउन आह्वान गर्न थालिएको छ । सबै दल समेटेर सरकार बनाउँन अधिकांशले माग गर्न थालेका छन् ।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले समेत सर्वोच्च अदालतको फैसलाले संसद् र संविधान जोगिएको बताउँदै अब सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने धारणा राखे ।

सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको फैसलालाई उनले स्वागत गरेका छन् । ‘पटकपटक संसद् विघटन गर्नु एमालेको गल्ती थियो ।

अब गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्नुछ’, भुसालले भने । संसद् र संविधान रक्षा गर्नु महत्वपूर्ण भएकाले गम्भीर बनेर थप निर्णय गरिने उनले बताए ।

‘हाम्रो मुलुकको स्वतन्त्रतता, स्वाधीनता र हाम्रो आन्दोलन जोगाउन संविधानको रक्षा जरुरी छ’, भुसालले भने ।

उनले संविधान कार्यान्वयनका क्रममा पार्टीले ठूलो क्षति बेहोर्नु परेको धारणा राखेका छन् । ‘संसद् जोगाउने हाम्रो कदम राजनीतिक रुपमा सही थियो ।

अहिले पार्टीलाई एकताबद्ध गर्ने निर्णय गरेका छौं, यो पनि सही छ’, अब मिलेर नै अघि बढ्छौ उनले भने । संसद् र संविधान जोगाउन अब छलफल चलाउने भुसालको भनाई थियो ।

सम्बन्धित खबरहरु