काठमाडौ । नेकपा एमाले स्थायी कमिटीको अनौपचारिक बैठक भर्खरै सकिएको छ । बैठकले सर्वोच्च अदालतको फैसलाबाट सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । सोमबार बसेको बैठकले अदालतको फैसला निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउन खोजेको ठहर गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनाहरुलाई खल्बल्याउने काम गरेको पार्टीको ठहर रहेको बताए ।

ज्ञवालीले भने सरकार बनाउने संविधानका आफ्नै व्यवस्थाहरु छन् । आजको फैसलाबाट हामीले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने देखिएको हाम्रो पार्टीको ठहर रह्यो ।

सर्वोच्चले प्रधानमन्त्री नियुक्त गर्ने लोकतन्त्रमा कल्पनाबाहिरको अभ्यास आजबाट भएको छ । यसले हामीलाई चिन्तित तुल्याएको छ उनले बैठकमा भएको छलफल बारे बताए ।

सर्वोच्चको फैसलाले दलहरुले संघर्ष गरेर ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास भएको एमालेले जनाएको छ । एमालेले सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिबारे औपचारिक धारणा तय गर्न स्थायी कमिटीको औपचारिक बैठक मंगलबार बोलाएको छ ।

स्थायी कमिटीको अनौपचारिक बैठकमै वार्ता टोलीका माधव नेपाल पक्षीय संयोजक भीम रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाएका थिए । उनी आफू समेत बैठकमा सहभागी भएका थिए ।

१० बुँदे सहमतिसहितको प्रतिवेदन ओलीलाई बुझाएपछि सहमति कार्यन्वयनमा जाने अपेक्षा नेता कार्यकर्ताको छ । तर वरिष्ठ नेता नेपाल भने सरकारमा भाग खोज्दै शेरबहादुर देउवा सहितका विपक्षी गठबन्धनका नेतासँग छलफलमा व्यस्त छन् ।

सम्बन्धित खबरहरु