काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दुई लाख ५० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने स्नातक तहको वार्षिक परीक्षालाई स्वास्थ्य सावधानीपूर्वक अपनाउँदै भौतिक रूपमै सञ्चालन गर्नेभएको छ ।

परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न सरकारले स्वीकृति दिएपछि स्वास्थ्य सावधानी अपनाउँदै अगाडि बढ्ने योजना विश्वविद्यालयले बनाएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले सरकारबाट स्नातक तहको परीक्षा सञ्चालन गर्न अनुमति लिइएको जानकारी दिनुभयो ।

उहाँले सावधानीपूर्वक परीक्षा सञ्चालन गरिने बताउनुभयो । विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर परीक्षा लिइने र सबै खालको स्वास्थ्य मापदण्डको पालना गरिने जानकारी उहाँले दिनुभयो ।

साउनदेखि सञ्चालन गरिने स्नातक तहको परीक्षामा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने भएकाले सरकारसित अनुमति लिएको स्पष्ट पार्नुभयो । कोरोना महामारी अझै पूर्ण रूपमा नियन्त्रणमा आई नसकेको र पछि समस्या हुन सक्ने ठानेर सरकारसित अनुमति लिइएको हो ।

विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ ।

यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो ।

यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पनि समेटिएपछि परीक्षा सञ्चालनमा थप सहज हुने अपेक्षा गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु