काठमाडौं । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।

जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।

यता रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुवेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–८ मुलावारीका वुधबहादुर नेपालीकी १३ बर्षकी छोरी ऋचा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रोपाइ सकेर घर फर्कदै गर्दा स्थानीय रनबहादुर गुरुङले खेतमा पानी लगाउन बनाएको पोखरीमा हात खुट्टा धुन गएकी उनी चिप्लिएर त्यही पोखरीमा खसेकी थिइन् । उपचारको क्रममा चिकित्सकले दिउँसो साढे दुई बजे बालिकालाई मृत घोषणा गरेको डिएसपी प्रकाश दाहालले बताए ।

सम्बन्धित खबरहरु