काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाएका छन् ।

सन्दीप टाइर ५ भिसामा त्यहाँ पुगेका कारण उनले प्रतियोगिता गुमाउने भएका हुन् ।

प्रतियोगिता गुमाउने भएपछि सन्दीप आज वा भोलिसम्ममा नेपाल फर्किने उनका व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन् ।

सन्दीप गत असार २४ मा इंग्ल्यान्ड गएर क्‍वारेन्टाइन अवधि पूरा गर्न लागिसकेका थिए ।

बिहिबारदेखि सुरु हुने प्रतियोगिताका लागि सन्दीप ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) मा अनुबन्ध भएका थिए ।

टाइर ५ भिसामा आएका व्यक्तिलाई व्यावसायिक खेलकुद प्रतियोगितामा सहभागी गराउन नपाइने इंग्ल्यान्ड क्रिकेट बोर्डको नियममा उल्लेख छ । त्यसकारण सन्दीप अप्ठेरोमा परेका हुन् ।

सन्दीपको टोली ओभल इन्भिन्सिबल्सका कप्तान साम बिलिङ्सले हालको अवस्थामा केही पनि कुरालाई लिएर निश्‍चिन्त हुन नसकिने बताएका छन् ।

यो महामारीको समयमा धेरैजसो खेलाडीहरु विभिन्‍न बाधाअड्चन पार गरेर त्यहाँ पुगेका छन् ।

सन्दीप पनि विशेष प्रतिभा भएका कारण बाधाहरुबाट मुक्त भएर खेलका लागि तयार हुने उनको विश्‍वास थियो । तर पूरा भएन उनले भनेका छन् ।

सन्दीपको टोली ओभल इन्भिन्सिबल्सले उनलाई सम्झौता नै गरेर बोलाएको थियो ।

तर सन्दीपले प्रतियोगिता गुमाउनुपर्ने अवस्था आएकाले तब्रेज शम्शीलाई ल्याउने तयारीमा छ ।

विदेशी खेलाडीका रुपमा सुनिल नारायण र कोलिन इन्ग्राम भने खेल्नका लागि योग्य भइसकेका छन् ।

 

सम्बन्धित खबरहरु