
काठमाडौं १० माघ ।
निरन्तर अवरोध गरेर एमाओवादी गठबन्धनले प्रक्रिया अघि बढ्न नदिएपछि सभाध्यक्ष सुवास नेम्बाङले प्रश्नावली समिति गठनको ठाडो प्रस्ताव संविधानसभामा ल्याउने तयारी गरेका छन्।
एमाओवादी र मधेसी मोर्चालगायत विपक्षीको अवरोधका कारण कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले समितिको प्रस्ताव र एमाले प्रमुख सचेतक अग्नि खरेलले त्यसको समर्थन गर्ने कार्यसूची सफल नभएपछि नेम्बाङ आफैंले प्रस्ताव गर्ने र सीधै मतदानमा लैजाने तयारी गरेका हुन्।
सभाध्यक्षको योजनामा कुनै व्यवधान भएन भने एमाओवादी गठबन्धनको अवरोधकै बीच उक्त प्रस्ताव ठाडै मतदानमा लगेर होहल्लाबीच पारित गरिनेछ।
स्रोतका अनुसार अवरोध संस्कृतिले संविधान बन्न नसक्ने धारणा संविधानसभामा निरन्तर राख्दै आएका नेम्बाङले ‘संविधानसभा अवरोधले नरोकिने’ सन्देश दिन खोजेका हुन्।
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओलीलगायत सत्तापक्षीय गठबन्धनका नेताहरूले सभाध्यक्षलाई ठाडै प्रस्ताव गर्न आग्रह गरेकोसमेत स्रोतले बतायो।
एमाओवादी गठबन्धनले माघ ८ बितिसकेकाले अब केही दिन संविधानसभा स्थगित गर्न शुक्रबार सभाध्यक्षसँग आग्रह गरे पनि सत्तापक्षीय गठबन्धनले कुनै पनि हालतमा प्रस्ताव पास हुनुपर्ने अडान राखेका छन्।
सभाध्यक्ष नेम्बाङसँग शुक्रबार उनकै कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीले संविधानसभाबाट प्रस्ताव पारित भएमात्र एमाओवादी गठबन्धनसँग वार्ता हुने भन्दै अहिलेलाई प्रस्ताव पारित गर्न आग्रह गरेका थिए।
‘सभाध्यक्षले चार दलको बैठक बसौं भनेर प्रस्ताव गर्दा सत्तापक्षका नेताहरूले संविधानसभा प्रक्रियामा गएपछिमात्र बैठक बस्ने, अहिले कुनै अर्थ छैन भन्ने जबाफ दिनुभयो’, स्रोतले उल्लेख ग:यो।
संविधानसभाको समिति गठन गर्न कुनै पनि दलले समर्थन र प्रस्ताव गरिराख्नु नपर्ने तथा त्यो सभाध्यक्षको विशेषाधिकार भएकाले ठाडो प्रस्ताव गर्न सत्तापक्षीय नेताहरूले नेम्बाङसँग आग्रह गरेका थिए।
केही दिन बैठक स्थगित गर्न सत्तापक्षले नमानेपछि सभाध्यक्षले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, फोरम अध्यक्ष उपेन्द्र यादवसहित १९ दलीय मोर्चाका नेताहरूसँग छलफल गरेका थिए। ‘अब संविधानसभा अड्केर बस्न सक्दैन।
सभाध्यक्षको योजनामा व्यवधान भएन भने विपक्षीको अवरोधकै बीच उक्त प्रस्ताव ठाडै मतदानमा लगेर होहल्लाबीच पारित गरिनेछ।
म आफैं अर्को बैठकमा प्रस्ताव राख्छु, तपाईंहरूले सहयोग गर्नुहोला’, बैठकमा सभाध्यक्षले भने। ठाडो प्रस्तावमा गच्छदारले समर्थन जनाएका थिए। एमाओवादी अध्यक्ष दाहाल भने पार्टीमा छलफल गर्नुपर्ने भन्दै बाहिरिएका थिए।
‘मैले हिजो (बिहीबार) ल्याएको प्रस्तावमा सहमति भएको भए हुन्थ्यो। तर पनि म नकारात्मक कुरा गर्दिनँ। आइतबार एक बजेसम्म सहमति गर्न सकिन्छ’, गच्छदारले भने।
एमाओवादी गठबन्धनको आग्रहअनुसार चार दिन बैठक स्थगित गर्न कांग्रेस र एमालेले नमानेपछि नेम्बाङले आइतबारसम्म बैठक स्थगित गर्ने र दलहरूबीच छलफल गरेर सहमति गर्न आग्रह गरेका थिए।
सभाध्यक्ष नेम्बाङले ठाडो प्रस्ताव गर्ने संकेत संविधानसभा बैठकमा गरिसकेका छन्। उनले बैठकका क्रममा शुक्रबार भने, ‘म तपाईंहरूलाई साक्षी राखेर भन्छु- कार्यसूचीको विषय अर्को बैठकमा अघि बढ्छ। त्यसले निष्कर्ष पाउँछ।
तपाईंहरूका तर्फबाट म प्रस्ताव गर्छु।’ लगातारको अवरोध फुकाउन आग्रह गर्दै नेम्बाङले ‘समस्याको समाधान पछाडि हटेर वा एकै ठाउँ उभिएर नहुने’ बताए।
उनले भने, ‘संविधान जारी गरौं भन्ने नाराले बैठक सञ्चालन हुँदामात्र सार्थकता पाउँछ।’ सत्तापक्षीय सभासद्हरूले यसको टेबुल ठोकेर समर्थन जनाएका थिए।
विपक्षी गठबन्धनले संविधानसभा अवरोधसम्बन्धी रणनीतिको समीक्षा गर्न शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दलका नेताहरूको बैठक बोलाएको छ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभाभित्र विपक्षीहरूले जारी राखेको भिडन्तका कारण अवरोध भएको समिति गठनबारे सभाध्यक्षले आइतबार निर्णय गर्छु भन्नु सत्ता पक्षका लागिमात्र नभएर सिंगो संविधानसभाका लागि ऊर्जा भएको बताए।
एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानसभाबाट संविधान ल्याउँदा कसले केकस्तो अवराध खडा गर्छन्, हेर्न बाँकी रहेको उल्लेख गरे। ‘संविधान निर्माणजस्तो कार्य प्रक्रियाबाटै अघि बढ्ने हो, सर्वसम्मति हुने कुरै हुँदैन। जारी प्रक्रिया टुंगियो-टुंगियो’ उनले भने।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिमै जानुपर्छ तर त्यसो हुन नसके लोकतान्त्रिक पद्धतिमा प्रक्रिया सबैभन्दा ठूलो रहेको बताए।
एमाओवादीलाई संवाद समितिको अध्यक्ष बनाउनु गल्ती
एमाले अध्यक्ष केपी ओलीले संवाद समितिको सभापति डा. बाबुराम भट्टराईलाई बनाएर कांग्रेस र एमालेले गल्ती गरेको जिकिर गरे। कांग्रेस र एमालेद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने, ‘संविधान बनाउने लोभमा हामी फस्यौं। संवाद समितिका कारण माघ ८ मा संविधान आएन।’
संविधानसभामा अवरोध गरेर संविधानसभा विघटन गर्न माग गर्ने शक्तिसँग मोर्चा बनाउनुको उद्देश्य आफूहरूले बुझिसकेको ओलीले बताए। त्यस क्रममा कांग्रेस उपसभापति पौडेलले सहमतिको अंकुश लगाएर एमाओवादीले धोखा दिएको बताए।
चीनकाजीलाई च्याप्प
समितिको प्रस्ताव पेस गर्न संविधानसभा बैठकमा शुक्रबार रोस्ट्रमतिर अघि बढेका कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई एमाओवादी सभासद्ले रोके। बैठक सुरु हुनासाथ रोस्ट्रमतिर दौडँदै गरेका श्रेष्ठलाई एमाओवादी सभासद्ले च्याप्प समातेका थिए।
एमाओवादी गठबन्धनको अवरोधबीच प्रस्ताव पेस गर्न श्रेष्ठ रोस्ट्रमतिर बढेका थिए। सभाध्यक्ष नेम्बाङले ‘सभासद्लाई त्यसरी समात्न नमिल्ने’ रुलिङ गरे पनि एमाओवादी सभासद्ले श्रेष्ठलाई अघि बढ्न दिएनन।
‘त्यसरी अर्को सभासदलाई नसमात्नुहोस्, त्यो नियमविपरीत हुन्छ’, सभाध्यक्षले रुलिङ गरे। एमाओवादी सभासद्को घेराबन्दीबाट निकाल्दै मर्यादापालकले श्रेष्ठलाई उनको सिटसम्म पुर्याएका थिए। अन्नपूर्णपोष्टमा खबर छ ।