काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न ४ प्रस्ताव पारित गरेको छ ।

निवर्तमान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले विभिन्न प्रस्ताव पारित गरेको हो ।

सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा सहित चार प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो प्रस्तावको रुपमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ ।

फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्याएको लगायतका ठहर गरेको हो ।

दोस्रोमा ४१ महिने ओली नेतृत्वको सरकारको समीक्षा गर्दै सरकारले ऐतिहासिक काम गरेको ठहर गर्दै त्यसबारे प्रस्ताव पारित गरेको छ ।

बैठकले विभिन्न प्रतिकूलताबीच पनि संघीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, अशान्ति मच्चाउने शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको, कोभिडका बीच पनि खोप सुनिश्चित गरेको ठहर एमालेको छ ।

तेस्रोमा अब पार्टीले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पारित गरेको छ ।

चौथोमा सिंगो पार्टी पङ्क्तिलाई अहिलेको प्रतिकुल अवस्थाबाट निराश नहुन आग्रह गर्दै कम ब्याक गर्न सक्ने गरी लाग्न आह्वान गर्ने चौथो प्रस्ताव पनि बैठकले पारित भएको छ ।

बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउनुभयो । बैठक बिहीबार ३ बजे पुनः बस्ने भएको छ । अध्यक्ष ओली पार्टी एकताका लागि बरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन पनि तयार हुनु भएको छ ।

सम्बन्धित खबरहरु