काठमाडौं । लामो समयदेखि आन्तिरक विवादको शिकार बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा नेताहरुले पुनः एकताका लागि प्रयास गर्ने भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले पार्टी एकतालाई बलियो बनाउने तर्फ लाग्ने प्रस्ताव पारित गरेको छ ।

बुद्धनगरमा बुधबार दिउँसो बसेको बैठकले सो प्रस्ताव पारित गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । बैठकले पार्टी एकतालाई खल्बल्याउने गरी संस्थापन पक्षका भ्रातृ सङ्गठनबाट भइरहेको गतिविधिप्रति खेद प्रकट गरेको पनि नेता पन्तले जानकारी दिनुभयो ।

यस्तो अस्वस्थ गतिविधिले पार्टी एकता खल्बल्याउनेमा बल पुग्छ भन्ने बैठकले ठहर गरेको उहाँले उल्लेख गर्नुभयो । पार्टीले सोधेको स्पष्टीकरणका विषयमा छोटो टिप्पणी गर्नुहुँदै नेता पन्तले भन्नुभयो, “स्पष्टीकरण सोधिएको हो ।

भन्ने मिडियाबाट जानकारीमा आएको छ, तर हामीसँग अहिलेसम्म पत्र पुगेको छैन, पत्र पुगेपछि के गर्नेबारेमा निर्णय गरौँला ।” आफूहरू पार्टी फुटको पक्षमा नरहेको तर पार्टीको विधिअनुसार बैठकहरू अगाडि बढ्नुपर्ने माग आफूहरूको रहेको उहाँले बताउनुभयो ।

सरकारमा सहभागी हुने नहुने बारेमा केही छलफल नभएको पनि पन्तले बताउनुभयो । नेताविरुद्धका उत्तेजक नाराबाजी रोकेर पार्टी एकताका काममा लाग्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको पनि उहाँले जानकारी दिनुभयो ।

नेता पन्तका अनुसार एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाइएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता नेपालविरुद्ध नाराबाजी गर्ने एवं पुत्ला जलाउने कार्य ठीक नभएको बैठकको ठहर छ ।

सर्वोच्च अदालतले आफ्नो विवेकको प्रयोग गर्न स्वतन्त्र रहेको आदेश दिएको अवस्थामा नेताहरूविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्ने निष्कर्ष पनि बैठकको छ ।

अध्यक्ष ओली पक्षबाट स्पष्टीकरण सोधिएकोर ओली निकटबाट नाराबाजी तथा पुत्ला दहनका गतिविधि भइरहेको अवस्थामा बुधबार बसेको नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले खेद प्रस्ताव पारित गरेको हो ।

नेपाल पक्षबाट पारित प्रस्तावमा सबै अराजनीतिक गतिविधि रोकेर पार्टी एकता अघि बढाउन ओलीको ध्यानाकर्षण गराइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु