काठमाडौ । चितवन, भरतपुर महानगरपालिका-१७ मानसिङ चोकस्थित सिमलडाँडा खेतको नहरमा धादिङ निलकन्ठ गाउँपालिका-१३ बस्ने ३७ वर्षीय भरत गुरूङ बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे, भुम्लु गाउँपालिका-८ स्थित दोलालघाट बसपार्कमा बा।२ ख ५२५५ नम्बरको बस मुनि हाल, नाम, थर, वतन, नखुलेका करिब ५५ वर्षीय पुरुष बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-११ नागा टोलस्थित सडक छेउको नालीमा करिब ८ महिनाको जस्तो देखिने नवजात शिशु बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने ३२ वर्षीय भगवती धामी बुढा मृत अवस्थामा फेला परेकी छिन् । नल्कामा मोटर जोड्ने क्रममा बिहीबार बिहान करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्घाखाँची, भुमिकास्थान नगरपालिका-१ ओखटे बस्ने ५० वर्षीया कमला खनाल मृत अवस्थामा फेला परेकी छिन् । उनकोपनि करेन्ट लागेर मृत्यु भएको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२४ रमगढवास्थित मोहित फुड प्रोडक्ट प्रालि (सोयाबिन फ्याक्ट्रीमा) काम गर्ने जिराभवानी गाउँपालिका-३ सहजनपुर बस्ने ३५ वर्षीय पदमदेव राय चौधरी मृत अवस्थामा फेला परेका छन् ।

उनकोपनि करेन्ट लागेर मृत्यु भएको छ । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा पंखाको नाङ्गो तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

यता सर्लाही चन्द्रनगर गाउँपालिका-५ मोहनपुर टोल बस्ने भारत सितामढी घर भएकी सकिला खतुनकी छोरी ३ वर्षीया मेहनाज खातुन मृत फेला परेकी छिन् ।

उनको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँस्थित पोखरीमा आफ्नो आमासँग नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केशरगञ्ज समेतबाट खटिएको प्रहरी टोलीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आङखोप बस्ने २६ वर्षीय देउमानको ताम्लिङ मृत फेला परेका छन् । उनको भीरबाट लडेर मृत्यु भएको हो ।

ताम्लिङ तिम्बुपोखरी होटलमा काम गरी घर फर्कने क्रममा देउराली भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु