cricketकाठमाडौं । नामिबियामा जारी आइसीसी विश्व लिग डिभिजन टु क्रिकेटको तेस्रो स्थानको खेलमा पनि नेपाल केन्यासँग पराजित भएको छ ।

शनिबार भएको खेलमा नेपाल केन्यासँग १५ रनले पराजित हुँदै चौथो भएको हो । यसअघि शुक्रबार पनि नेपाल केन्यासँगै ५ विकेटले पराजित भएसँगै डिभिजन वानमा पुग्न सकेको थिएन ।

शनिबारको हारसँगै नेपालले केन्यासँगको हारको बदला लिने मौका पनि गुमायो । केन्याले दिएको २०९ रनको लक्ष्य पछ्याएको नेपाल ४७ ओभरमा १९३ रनमा अलआउट भयो ।

नेपालका लागि विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ८३ बलमा २ छक्का र ६ चौकाको मदतले ७३ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४८ रन बनाए । उनले शुक्रबार केन्याविरुद्धकै खेलमा ९१ रन बनाएका थिए ।

यस्तै सरद भेषवाकरले २४, सागर पुनले ११ र सुवास खकुरेलले १० रनको योगदान दिए । केन्याविरुद्ध बलिङमा जम्न नसकेका कप्तान पारस खड्का ब्याटिङमा पनि शून्य रनमा नै आउट भए भने सोमपाल कामी पनि शून्य रनमा नै पभेलियन फर्किए । आरिफ शेखले ५, शक्ति गौचनले ४ र भुवन कार्कीले २ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०८ रन बनाएको थियो । बलिङतर्फ नेपालका सोमपाल कामीले ३, सागर पुनले २ तथा शक्ति गौचन र भुवन कार्कीले १–१ विकेट लिएका थिए ।

शनिबार नै भएको खेलमा आयोजक नामिबियालाई ८ विकेटले पराजित गर्दै नेदरल्याण्डस्ले उपाधि जितेको छ । नामिबियाले दिएको २१३ रनको लक्ष्य नेदरल्याण्डस्ले ४१ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

प्रतियोगितामा युगाण्डा पाँचौ र क्यानडा छैठौ भएका छन् । शनिबार युगाण्डाले क्यानडालाई ८ विकेटले पराजित गरेको हो । दुवै टोली यसअघि नै डिभिजन टु बाट घटुवा हुँदै डिभिजन थ्रीमा झरिसकेका छन् ।

सम्बन्धित खबरहरु