काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ लिन लाग्नु भएको छ ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्‍य तथा जनसङ्‍ख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूसँगै रहने गरी माननीय श्री उमेश श्रेष्ठज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्‍य तथा जनसङ्‍ख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।’

सम्बन्धित खबरहरु