काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप २,२३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही समयमा १८ जनाको कोभिड–१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दियो ।

आइतवार मन्त्रालयद्धारा सार्वजनिक तथ्याङ्कअनुसार १३,८३४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । उनीहरुमध्य ३,२६५ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो ।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ३४ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,७१३ पुगेको छ ।

अहिले कुल परीक्षणको झन्डै १६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलले जानकारी दिएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,०५० जना सङ्क्रमणमुक्त भएका छन् । तथ्याङ्कअनुसार अहिले कुल २७ हजार २ सय जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ ।

तीमध्ये २४,५४८ जना घरमा तथा २,६८० जना संस्थागत आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये अहिले ६६६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६८ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ४६८ जना काठमाडौंमा, १४७ जना मोरङ्गमा, ११४ जना कास्कीमा फेला परेका हुन् । सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी रहेको छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका नियमलाई निरन्तरता दिँदै तीन जिल्लामा १० दिनका लागि थपिएको छ । यसअघि साउन १ गतेदेखि सुरु हुनेगरी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको थियो ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शनिवारसम्म १३ लाख ९८ हजार नाघेको थियो । नेपालमा अहिलेसम्म कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन् ।

सम्बन्धित खबरहरु