काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन् । विद्यार्थीहरु आन्दोलनमा निस्केपछि आज मंगलबारदेखि सुरु हुने भनिएको विज्ञान तथा प्रविधि संकाय स्नातक र स्नातकोत्तर तहको परीक्षाहरु स्थगित गरिएको हो । पूर्व कार्यतालिका अनुसार स्नातकका आज १२ गतेदेखि र स्नातकोत्तर तहको भोलि १३ गतेदेखि परीक्षा हुनुपर्ने थियो ।

सोमबार राति विद्यार्थी र विश्वविद्यालयबीच सहमतिको प्रयास गरिएको थियो । तर विद्यार्थीहरुले माग पूरा नहुँदासम्म परीक्षा सञ्चालन गर्न नदिने अडान लिएपछि परीक्षा स्थगित गर्नुपरेको विश्वविद्यालयले जानकारी दिएको छ । सोमबार मध्यराति सूचना प्रकाशित गर्दै परीक्षा व्यवस्थापन कार्यालयले परीक्षा स्थगित गरिएको जनाएको छ ।

कोरोना महामारीका कारण विद्यार्थीहरुले अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका छन् । तर त्रिभुवन विश्वविद्यालयले भने दुई वर्षदेखि रोकिएका परीक्षा हाल भौतिक उपस्थितिमै लिइरहेको छ । लोक सेवा आयोगले पनि भौतिक उपस्थितिमै परीक्षा लिन थालेको छ ।

तर मध्यपश्चिम विश्वविद्यालयका आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भने अनलाइनमाध्यमबाट पढाइ भएकाले अनलाइन माध्यमबाटै परीक्षा लिनुपर्ने लगायतका विभिन्न १९ बुँदे माग राख्दै गत आइतबारदेखि आन्दोलन गरिरहेका छन् । बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका थिए ।

सम्बन्धित खबरहरु