काठमाडौ । प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गर्नुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उहाँले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि सार्नुभएको हो ।

उहाँले नयाँ पुस्ताका कुनै नेतालाई यो जिम्मेवारी दिए पनि मान्य हुने धारणा राख्नुभएको छ ।

‘मैले केपीको भनाइ बुझिसकेको छु,’ नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘उहाँ दिन तयार हुनुहुन्छ भने जेएन कमरेड वा तपाईंहरू दोस्रो पुस्तामध्येबाट कोही अध्यक्ष भए पनि मलाई मान्य छ।’

खासगरी दोस्रो पुस्ताका नेताहरूले ओलीसँग मिल्न निरन्तर आग्रह गरेपछि नेपालले आफूलाई दोस्रो अध्यक्ष नचाहिने र ओलीले दिन्छन् भन्ने विश्वास पनि नभएको बताउनुभएको हो ।

दोस्रो पुस्ताका नेताहरूले ओलीले कागज गरेरै दोस्रो अध्यक्ष दिने बताए पनि नेपाल पत्याउन तयार हुनुभएको छैन ।

एमाले महाधिवेशन २०७१ असारमा सम्पन्न भएको हिसाबले पनि सात वर्ष पुगिसकेको छ। विगतमा पाँच–पाँच वर्षमा महाधिवेशन हुने गरेकोमा अहिले दुई वर्ष कटिसकेको हुँदा ओली अध्यक्ष बनिरहन नसुहाउनेसमेत नेपालले बताउँदै आउनुभएको छ ।

एमाले विधानमा ७० वर्ष उमेर पुगेका नेताले दलबाट अवकाश लिनुपर्ने प्रावधान छ। यस हिसाबले पनि ओली अध्यक्षको जिम्मेवारीबाट अलग्गिनुपर्ने आवाज उठ्दै आएको छ। विधानको उक्त प्रावधान ओलीले आफूलाई अनुकूल हुनेगरी संशोधन गराए पनि नेपाल पक्षले आफ्नो संलग्नताबेगर भएको संशोधन अस्वीकार गर्दै आएको छ ।

नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण बिष्टले ओली नरम भएका र निकै सच्चिएको बताउँदै आउनुभएको छ । तर, ओलीले हालै नेपाल पक्षलाई लक्षित गर्दै पार्टीमा अनुशासनहीन काम गर्नेलाई ‘एम्नेस्टी ग्रान्टेड’ भन्नुभएको थियो । त्यसबाट नेता नेपाल झनै आक्रोशित भएको देखिन्छ ।

नेपालले ‘महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, आममाफी दिइएको छ’ भन्दै ओलीको उक्त अभिव्यक्तिको विरोध गर्नुभएको थियो । त्यसपछि ओलीले माफी आफूले दिने नभई पार्टीले दिने भनेर स्पष्टीकरण दिनुभएको थियो । यो समाचारनागरिक दैनिकमा छ ।

सम्बन्धित खबरहरु