काठमाडौं । मंगलबार बेलुकादेखि सामाजिक सञ्जालमा एउटा खबर अचानक फैलियो, त्यो खबर थियो मेमोरी किंग विजय शाहीको निधन भयो ।

आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक सञ्जालमा धेरै चर्चा कमाएका विजय शाहीको मृत्युको खबरले धेरैलाई आश्चर्यचकित पा¥यो ।

खबर भाइरल भएको केही समयपछि उक्त कुरा गलत भएको खुलासा भयो ।

यसरी उनले आम मानिस मात्रै नभई यमराजलाई पनि झुक्काए भनेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले टिप्पणी गर्न थाले ।

त्यसबीच प्रहरी पनि हर्कतमा आइसकेको थियो । प्रहरीका कारण नै उनी जिवित रहेको कुरा बाहिर आयो ।

सबैको मनमा आखिर यो खबर कसरी फैलियो भन्ने जिज्ञासा चाँही रहेको छ ।

मृतक भन्दै सार्वजनिक तस्विरमा आखिर विजय शाही नै देखिएका छन् । अहिले आएर यसको खुलासा पनि भएको छ ।

प्रहरीका अनुसार उनी आफैले मृत्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले यस्तो जानकारी दिनु भएको हो । प्रहरीका अनुसार शाही कालिकोट महाबु गाउँपालिका–५ स्थित घरमा नै छन् । प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए ।

प्रहरीसँगको बयानमा उनले पछिल्लो समय निकै तनाव भएका कारण आफूले मरेको हल्ला फिँजाएको स्विकार गरेका हुन् । उनले आफ्ना केही आफन्तसँग मिलेर नाकमा रुइ कोचेको तस्विर सार्वजनिक गरेका हुन् ।

तस्विरमा उनी हाँसेको जस्तो पनि देखिएको देखिन्छ । जिउदो लाश भएका विजयलाई सेतो कपडा समेत ओढाइएको थियो । उनीमाथि सर्वसाधारणलाई उल्लु बनाएर लाखौं ठगेको आरोप लागेको छ ।

 

सम्बन्धित खबरहरु