काठमाडौं । कोरोना महामारीका कारण प्रभावित भएको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी शुरु भएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस्तो बताउनु भएको हो ।

यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण परीक्षार्थीहरुले अध्ययन गरेको विद्यालयमै होमसेन्टर अवधारणा अनुसार परीक्षा लिने जानकारी उहाँले दिनुभयो ।

सदस्य सचिव अर्यालले निषेधाज्ञाका कारण पर्याप्त मात्रामा यातायात नचलेका कारण विद्यार्थीको सहजताका लागि होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्न लागेको तर्क दिनुभयो ।

तपाईंलाई जानकारी गराउ कि यहि साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बोर्डले विश्वास दिलाएको छ ।

छलफलमा सांसद बिद्या भट्टराईले लकडाउनका कारण विद्यालयमा गुणस्तरीय शिक्षा भएकोले विद्यार्थीले कसरी परीक्षा दिने भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले लकडाउनपछि स्नातक तहको पढाइ नै नभएको उल्लेख गर्नुभयो । सांसद अञ्जना बिसंखेले विद्यार्थी अनलाइन कक्षा भन्दै मोबाइलमा गेम खेलेर बसेको भन्दै पढाई नभएको बताउनुभयो । सांसद बिसंखेका अनुसार लगातार विद्यालय बन्द हुँदा असामाजिक बन्दै गएका छन् ।

पूर्व शिक्षामन्त्री एवं सांसद गिरिराजमणि पोखरेलले सम्पूर्ण शिक्षक विद्यार्थीलाई खोप नदिएसम्म भौतिक उपस्थितिमा परीक्षा लिनु उपयुक्त नभएको सल्लाह दिनुभयो ।

छलफलमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संकट ब्यवस्थापन केन्द्रको निर्देशन अनुसार मापदण्ड पुर्याएर परीक्षा सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु